स्वास्थ्यमन्त्रीलाई विज्ञहरूले भने: जनतालाई नि:शुल्क मास्क दिनुपर्छ - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

स्वास्थ्यमन्त्रीलाई विज्ञहरूले भने: जनतालाई नि:शुल्क मास्क दिनुपर्छ



काठमाडौं– कोरोना संक्रमणको जोखिम बढ्दै जान थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विज्ञहरुसँग छलफल गरेका छन्।

भर्चुअल बैठकमार्फत् ढकालले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले गरिरहेको काम र थप रणनीतिका बारेमा छलफल गरेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्चअधिकारीसहितको छलफलमा मन्त्री ढकालले सबैको प्रयासले नै कोभिड १९ नियन्त्रणमा सफलता मिल्ने भन्दै निरन्तर सुझाव आवश्यक रहेको बताए।

कोभिड १९ नियन्त्रणमा देखा परेका चुनौतिको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने उनको भनाई छ।

कोरोनाविरूद्ध पहिलो भागमा रहेर खटिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको सबैले हौसला बढाउनुपर्ने उनले बताए। छलफलमा सहभागी डा महेश मास्केले सूचना व्यवस्थापन राम्रोसँग गर्नुपर्ने बताए।

उनले कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर नगएको भन्दै संक्रमितको संख्या धेरै देखिए पनि संक्रमणको दर घट्दो क्रममा रहेको प्रष्ट पारे।

प्रा डा जीवन शेरचनले मास्क ठूलो मात्रामा उत्पादन गरेर जनतामा बितरण गर्नुपर्ने धारणा राखे।

उनले कतिपय नागरिक मास्क किन्न सक्ने हैसियामा समेत नरहेको भन्दै उनीहरू पनि घरबाहिर निस्कनु पर्ने र काममा जानुपर्ने अवस्था रहेको भन्दै मास्क सरकारले निःशुल्क बितरणको व्यवस्था मिलाउनुपर्ने बताए। नमुना परीक्षणको नतिजा अझै छिटो र व्यवस्थित रूपमा दिनुपर्ने उनको भनाई छ।

छलफलमा सहभागी नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका प्राडा भगवान कोइरालालले दशैं लगायतका महत्वपूर्ण चाड नजिकै आइरहेको भन्दै प्रोटोकल बनाएर नागरिकहरूलाइ सहजीकरण गर्नुपर्ने बताए।

उनले अस्पताल संक्रमण रोकथामको काम गर्दै प्लाज्मा थेरापीका लागि प्लाज्मा बैंक बनाउनुपर्नेमा जोड दिए।

छलफलमा नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले स्वास्थ्यकर्मीको सुरक्षाको सवालमा अलिबढी ध्यान दिन आवश्यक रहेको बताए।

टेकु अस्पतालका डा अनुप बास्तोलाले भेन्टिलेटरमा जाने भन्दा पनि अक्सिजन थेरापीलाइ महत्वका साथ अघि बढाउनुपर्ने प्रष्ट्याए। अक्सिजन थेरापी भेन्टिलेटर भन्दा राम्रो र प्रभावकारी रहेको उनको भनाई छ।

छलफलमा स्वास्थ्य मन्त्रालयकाका तर्फबाट सचिव लक्ष्मण अर्याल, मन्त्रीका सल्लाहकार डा खेमबहादुर कार्की, सहसचिव डा गुणराज लोहनी, प्रवक्ता प्राडा जागेश्वर गौतम, डा गुणनीधि शर्मा लगायत सहभागी थिए।