रक्षामन्त्री पोखरेलले भने- मेरो विरोध गर्नेहरू ‘शाही शासनका दुष्ट मतियार’ - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

रक्षामन्त्री पोखरेलले भने- मेरो विरोध गर्नेहरू ‘शाही शासनका दुष्ट मतियार’



काठमाडौँ- सम्धी काण्डमा विवादमा परेपछि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मुख खोलेका छन् । उनले सम्धी डा. उपेन्द्र कोइरालाको पछिल्लो नियुक्तिमा आफ्नो नाम जोडिएकोमा आपत्ति समेत जनाएका छन् ।

त्यतिमात्र होइन पोखरेलले आफूमाथि लाग्दै आएको पानी ट्यांकीमा पैसा लुकाएकोबारे पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले आफ्नो विरोध गर्नेहरू ‘शाही शासनका दुष्ट मतियार’ भएको टिप्पणी समेत गरेका छन् ।

रक्षामन्त्री पोखरेलले बुधबार सामाजिक सञ्जालबाट विज्ञप्ति जारी गर्दै आफ्नो नातेदारले आफूसँगको सम्बन्ध दुरुपयोग गरेर लाभ लिएको वा पद पाएको भन्ने सूचना सही नभएको दावी गरेका छन् ।

‘भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन्,’ पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘कहीं कतै मेरो अवाञ्छित चासो वा हस्तक्षेप नभएको जानकारी गराउँछु । यदि अन्यथा पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रुपमा सजायको भागिदार हुनेसमेत विश्वास दिलाउन चाहन्छु ।’

तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा आफू नजरबन्दमा रहेका बेला घरको पानीटंकीमा पैसा लुकाएको भनी लाञ्छना लगाइएको भन्दै उनले अहिले पनि त्यही विषयलाई उछालिएकोमा आपत्ति जनाउँदै तिनलाई ‘शाही शासनका तिनै दुष्ट मतियार’ भनी टिप्पणी गरेका छन् ।