एन्डरसनले बनाए दुर्लभ कीर्तिमान - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

एन्डरसनले बनाए दुर्लभ कीर्तिमान



एजेन्सी– इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले टेष्ट क्रिकेटमा ऐतिहासिक ६ सय विकेट पूरा गर्दै कीर्तिमान कायम गरेका छन् । उनी टेष्ट क्रिकेटमा ६ सय विकेट पूरा गर्ने पहिलो तीव्र गतिका बलर हुन् ।

पाकिस्तानविरुद्ध तेस्रो तथा अन्तिम टेष्टको पाँचौ दिन कप्तान अजहर अलीलाई जो रुटबाट ३१ रनमा क्याच गराउदै एन्डरसन टेष्टमा ६ सय विकेट पूरा गर्ने पहिलो तीव्र गतिका बलर बनेका हुन् । समग्रमा टेष्टमा ६ सय विकेट पूरा गर्ने चौथो बलर बनेका छन् । यस अघि टेष्टमा ६ सय विकेट तीन स्पिनरले पूरा गरेका थिए ।

सन् २००३ देखि टेष्ट क्रिकेट खेल्दै आएका एन्डरसनले १ सय ५६ टेष्टमा खेलमा यस उपलब्धि हात पारेका हुन् । एन्डरसनको टेष्टमा उत्कृष्ट प्रर्दशन ७–४२ छ । २९ पटक पाँच भन्दामाथि विकेट लिएका छन् । तीन पटक १० माथि विकेट लिएका छन् ।

टेष्टमा सर्वाधिक विकेट लिने कीर्तिमान श्रीलंका स्पिनर मथैया मुरलीधरनको नाममा छ । उनले सन् १९९२ देखि २०१० सम्म १ सय ३३ टेष्टमा ८ सय विकेट लिएका थिए । दोस्रो स्थानमा अष्ट्रेलियाका लेग स्पिनर शेन वार्न रहेका छन् । वार्नले १९९२ देखि २००७ सम्म १ सय ४५ टेष्टमा ७ सय ८ विकेट लिएका छन् ।

तेस्रो स्थानमा रहेका भारतीय पूर्व स्पिनर अनिल कुम्बलेले १९९० देखि २००८ सम्म १ सय ३२ टेष्ट खेलमा ६ सय १९ विकेट लिए । सर्वाधिक विकेट लिने तीव्र गतिका बलरमा एन्डरसनपछि अष्ट्रेलियाका पूर्व खेलाडी ग्लेन म्याक्ग्रा छन् । म्याक्ग्राथले १९९३ देखि २००७ सम्म १ सय २४ टेष्टमा ५ सय ६३ विकेट लिएका छन् ।

अन्य तीव्र गतिका बलरमा वेस्टइन्डिजका कोर्टनी वाल्शले ५ सय १९, इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले ५ सय १४ र दक्षिण अफ्रिका डेल स्टेनले ४ सय ९३ विकेट लिएका छन् ।