जातीय अत्याचार: सात महिनाकी गर्भवती कीर्तिमानी खेलाडीमाथि बेल्टले कुटपिट - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

जातीय अत्याचार: सात महिनाकी गर्भवती कीर्तिमानी खेलाडीमाथि बेल्टले कुटपिट



कुट्दै लखेटिएका दलित युवकलाई जोगाउन खोज्दा सात महिनाकी गर्भवती चन्द्रकलामाथि बेल्टले निर्घात प्रहार

काठमाडौं- सोमबार राति ८ बजेतिर झापा मेचीनगर–१९ चारआलीका राजन दर्जी आत्तिँदै र गुहार माग्दै स्थानीय चिया पसलभित्र प्रवेश गरे । उनलाई छिमेकी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले गालीगलौज गर्दै लखेटिरहेका थिए । जातीय विभेदयुक्त शब्दमा गाली गर्दै आइरहेका उनीहरूलाई चियापसलकी सञ्चालक तथा कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेले रोक्न खोजिन् । र, ‘अहिलेको जमानामा पनि किन जातीय विभेद गर्ने शब्द बोल्नुभएको’ भन्दानभन्दै उनीमाथि नै जाइलागे श्रेष्ठ दम्पती । ‘तँ पनि तल्लो जातकी रैछेस् भन्दै आक्रमण गरे,’ चन्द्रकला भन्छिन् । श्रेष्ठ दम्पतीको निर्घात कुटपिटबाट नेपाल पुलिस क्लबमा आबद्ध एथ्लेटिक्स खेलाडी चन्द्रकला सख्त घाइते भएकी छिन् । सात महिनाकी गर्भवती उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

चन्द्रकला र उनका पति सुमन खाती चारआलीस्थित राजन दर्जीकै जग्गामा रहेको गुम्तीमा चियापसल चलाउँछन् । श्रेष्ठ दम्पतीको घरमा पनि होटेल सञ्चालनमा छ । राजन उक्त होटेलमा क्यारेमबोर्ड खेलेको हेर्न गइरहन्थे । सोमबार पनि उनी खाजा खान सोही होटेलमा पुगेका थिए । कुटपिटमा संलग्न दुर्गा श्रेष्ठ नेपाली सेनाबाट सेवानिवृत्त हुन् ।

श्रेष्ठ दम्पतीले उनलाई दलित भएकैमा हेपेर बोल्ने गर्थे । दलित समुदायलाई होच्याउने तुच्छ शब्द प्रयोग गर्दै गाली गर्थे । सोमबार खाजा खाँदै गर्दा दुर्गा श्रेष्ठले एकाएक राजनलाई बेल्टले पिट्न थाले । कसैले छुट्याउन सकेनन् । त्यसपछि राजन उनीबाट भागेर चन्द्रकलाको चियापसलमा गुहार माग्दै पुगे । चन्द्रकलाले रोक्न खोज्दा ‘तँ कोरोना बोकेर आएकी छेस्’ भन्दै उनीमाथि पनि बेल्टले निर्घात कुटपिट गरे ।

कुटपिटबाट सख्त घाइते भएकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादे झापा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार गराउँदै
तीन महिनाअघि राजन भारतबाट आएका एक साथीसँगै नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । तर, पछि दुवैजनाको रिपोर्ट नेगेटिभ आयो र घर फर्किए । त्यसयता दर्जीलाई श्रेष्ठ दम्पतीले कोरोना बोकेर आएको भन्दै जातीय विभेदयुक्त शब्दमा गालीगलौज गर्दै आएका थिए ।

सोमबार राति नै उनीहरू कुटपिटबारे जानकारी गराउन चारआलीस्थित प्रहरी चौकीमा गए । प्रहरीले दुवै पक्षलाई मिल्न भनेको थियो । राति १२ बजेपछि छटपटाउन थालिन् । र, उनलाई मध्यरातमा स्थानीय मनकामना अस्पताल पु¥याइयो । ‘कुटपिट गर्नेबित्तिकै त खासै केही भनिनन् । राति १२ बजे सुत्नै नसकेर छटपटाइन् । हतार–हतार नजिकैको अस्पताल लगेँ । त्यहाँ ठीक नभएपछि यहाँ (बिएन्डसी) ल्याएका हौँ,’ सुमनले भने, ‘उनी (चन्द्रकला)चाहिँ ठीकै छिन् । तर, पेटको बच्चालाई असर परेका कारण रेस्ट गर्नुपर्ने डाक्टरले बताएका छन् ।’

‘उहाँ (श्रेष्ठ)को घरमुनि होटेल छ । त्यहाँ दाइ (राजन) जानुभएको रहेछ । उहाँलाई पहिलादेखि नै तुच्छ शब्द प्रयोग गर्दै गाली गरिरहनुहुन्थ्यो । सोमबार पनि त्यसरी नै गाली गर्दै बेल्टले कुट्दै खेदाए,’ चन्द्रकलाले भनिन्, ‘उहाँ बचाउ बहिनी भन्दै हामी खाना खाइरहेको ठाउँमा आउनुभयो । जातीय रूपमै हेला गरेपछि मलाई चित्त बुझेन ।’

कुटपिटबाट घाइते चन्द्रकलाका पति सुमन खाती
दलित समुदायकै खेलाडी चन्द्रकलाले प्रतिकार गर्दै जातीय रूपमा गाली नगर्न आग्रह गरिन् । ‘तर, ममाथि उल्टै हात हालियो । तँ पनि तल्लो जातकी रहिछस् र त यसको पक्षमा बोलिस् हैन भन्दै कुटपिट भयो,’ उनले भनिन्, ‘म सात महिनाकी गर्भवती हुँ । सुरुमै मेरो पेटमा विष्णुले प्रहार गरिन् । पछि उनका श्रीमान्ले बेल्टले हाने । मलाई जोगाउँदा मेरो श्रीमान् (सुमन खाती)को जिउभरि निलडाम छ ।’

कुटपिटबाट घाइते चन्द्रकलाका पति सुमन खातीको शरीरमा बसेको डाम
जति कुटाइ खाए पनि जातीय विभेदविरुद्ध आवाज उठाइरहने चन्द्रकला बताउँछिन् । ‘एक दिन मर्नु नै छ । विभेदविरुद्ध बोल्दा मारे पनि मारुन् । किन अपमान सहेर मर्ने ?’ उनी भन्छिन्, ‘यसपटक पनि विभेदविरुद्ध बोल्नु नै मेरो गल्ती भयो । त्यही भएर कुटाइ खाएँ । तर, विभेदविरुद्ध बोल्न कहिल्यै छाड्दिनँ ।’

लकडाउनमा झापा आएकी थिइन् चन्द्रकला

चन्द्रकला नेपाल प्रहरीको एथ्लेटिक्स खेलाडी हुन् । उनी नेपाल पुलिस क्लबमा आबद्ध छिन् । कोरोना महामारीका कारण चैतमा देशव्यापी लकडाउन भएसँगै पुलिस क्लबमा आबद्ध खेलाडीले पनि बिदा पाए ।

गर्भवती रहेकी उनलाई लकडाउनले सहज बनायो । नौ महिनाअघि विवाह गरेकी चन्द्रकलाका श्रीमान् सुमनको कुनै रोजगारी थिएन । चन्द्रकलाको कमाइले परिवार पाल्न धौ–धौ थियो । काठमाडौंको महँगी थेग्न नसकेपछि सुमनले जुत्तापसलमा काम थालेका थिए । तर, लकडाउनले उनी कामविहीन भए । ‘काठमाडौंमा त बस्न सक्ने अवस्था नै भएन । उनको (चन्द्रकला) पनि बिदा भयो । दुई जिउकी पनि भइन् । झापा जाँदा सहज हुन्छ भनेर यहाँ आएका हौँ,’ सुमनले भने । झापा आएर सुमनले चारआलीमा गुम्तीमा चियापसल खोले । चन्द्रकलाले पनि त्यहीँ सहयोग गर्छिन् । सोमबार राति पनि गुम्तीमै खाना खाइरहेकी उनीमाथि आक्रमण भएको थियो । ‘अहिलेसम्म कति गेम खेलेँ, कहिल्यै जिउ दुखेको थिएन । उनीहरूको कुटाइले जिउ छुनै भएको छैन,’ चन्द्रकलाले भनिन्, ‘अहिले त उभिन पनि सक्दिनँ ।’

कुटपिट गर्नेविरुद्ध उजुरी

जातीय रूपमा होच्याउँदै आक्रमण गर्ने श्रेष्ठ दम्पतीविरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी राकेश थापाले श्रेष्ठ दम्पती पक्राउ परेको जानकारी दिए ।

डिएसपी थापाका अनुसार जिल्ला अदालत झापाबाट पाँच दिन म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको छ । मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य निर्मला परियारको अगुवाइमा चन्द्रकलाका श्रीमान् सुमनको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । ‘त्यो परिवारले बारम्बार जातीय विभेद गरेको गुनासो आइरहेको थियो,’ परियारले भनिन्, ‘जातीय विभेद सहेर बस्नुहुँदैन भनेरै हामीले मुद्दा दर्ता गर्न लगाएका हौँ ।’

घटनामा संलग्नलाई कारबाही गर्न दलित अधिकारकर्मीले माग गरेका छन् । जातीय विभेदका घटनामा कारबाही भएको नजिर बसाउन सके त्यस्ता घटनामा कमी आउने दलित अधिकारकर्मी हुकुमसिंह नेपाली बताउँछन् । ‘ती मान्छे पहिलादेखि नै पैसाको अहंकार देखाउने उद्दण्ड रहेछन् । दलितलाई देख्नेबित्तिकै कोरोना ल्याइस् भन्ने गर्दै हीनताबोध गराउँदा रहेछन्,’ नेपाली भन्छन्, ‘दलितलाई दमनै गर्ने हो, पुर्खादेखि दमन नै गरेको हो भन्ने मनस्थितिले यो घटना गराएका हुन् । समाजमा सबै खाले विभेद अन्त्य गर्न घटनामा संलग्नलाई हदैसम्मको कारबाही हुनुपर्छ । हामीलाई मिल्न दबाब आएको छ, तर पछि हट्दैनौँ ।’

जाहेरी दर्ता गराएको सुनेपछि मिल्न भन्दै दुर्गाकी श्रीमती विष्णु भने चन्द्रकला उपचाररत बिएन्डसी अस्पतालमा पुगेकी थिइन् । उनले माफी माग्दै मिलाइदिन आग्रह गरिन् । ‘उपचारमा लागेको सबै खर्च बेहोर्छु, मुद्दा नलगाइदिनु भन्दै थिइन् । कामना गर्छु बच्चालाई केही नहोस् पनि भनिन्,’ चन्द्रकला भन्छिन्, ‘तर, मैले अपमान सहेँ भने सिंगो दलित समुदायले अपमान सहनुपर्छ भनेर उजुरी दर्ता गराएका हौँ ।’

अदालतबाट म्याद थप गरेर ल्याएपछि विष्णु बेहोस भएर लडेकाले उपचारका लागि बिएन्डसी अस्पतालमै पु¥याइएको इलाका प्रहरी कार्यालय धुलाबारीका निरीक्षक कैलाश चौधरीले जानकारी दिए । ‘सुगर, प्रेसरको बिरामी रहिछिन्, बेहोस भएपछि अस्पताल लगेको हौँ,’ उनले भने, ‘श्रीमानचाहिँ हिरासतमा छन् ।’

चन्द्रकलाको संघर्ष

ताप्लेजुङको विकट गाउँ तिलबारीमा हुर्किएकी चन्द्रकला सानैबाट विभेद भोग्दै हुर्किन् । सानैबाट खेलमा मोह भएकी चन्द्रकला स्कुलदेखि नै फुटबल, भलिबललगायत खेलमा सहभागी हुन्थिन् । उनले जिल्लामा हुने राष्ट्रपति रनिङ सिल्डमा धेरैपटक भाग लिएकी थिइन् । खेलमै भविष्य खोजिरहेकी चन्द्रकला सात वर्षअघि नेपाल प्रहरीमा भर्ती हुँदै पुलिस क्लबमा आबद्ध भइन् । पुलिसमा रहेर उनी ‘कीर्तिमानी खेलाडी’ बनिन् ।

आठौं राष्ट्रिय खेलकुदमा एथ्लेटिक्सतर्फ नेपाल पुलिस क्लब तेस्रो भएको सिल्डका साथ चन्द्रकला
दर्जनभन्दा बढी राष्ट्रियस्तरका खेल खेलेकी उनी तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागी भएकी छिन् । उनले सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा सटपुट र ज्याभलिन थ्रोमा आफैँले यसअघि बनाएको रेकर्ड तोड्दै कीर्तिमान राखिन् । र, दुई÷दुईवटा स्वर्णपदक जितिन् । यस्तै, आठौँ राष्ट्रिय खेलकुदमा एथ्लेटिक्सको सटपुटमा १२ दशमलव ०४ मिटरको नयाँ कीर्तिमानी बनाइन् । त्यसअघि पनि यो कीर्तिमान उनकै नाममा थियो । यस्तै, आठौँ राष्ट्रिय खेलकुदको ज्याभलिन थ्रोमा यसअघि आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै ४४ दशमलव ०४ मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरिन् । जातीय विभेदका साथ निर्घात कुटपिट भए पनि आफूले अझै पनि खेल्ने र देशका लागि अन्तर्राष्ट्रियस्तरका पदक ल्याउने अठोट चन्द्रकलाको छ ।

दोषीमाथि कडा कारबाही माग

खेल क्षेत्रका हस्ती र संगठनले चन्द्रकलामाथि भएको घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारबाही माग गरेको चिरञ्जीवी घिमिरेले नयाँ पत्रिकामा लेखेका छन् ।

एथ्लेटिक्सका वरिष्ठ प्रशिक्षक सुशील नरसिंह राणाले घटनाको भत्र्सना गरे । ‘यो निन्दनीय घटना हो । जातीय विभेद कसैमाथि पनि हुनु गलत कुरा हो । अझ खेलाडीमाथि यो दुव्र्यवहार सह्य हुँदैन,’ उनले भने, ‘खेलाडी कुनै जातको हुँदैन । उसले कुनै एउटा जातको लागि मात्रै खेल्दैन । अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदा खेलाडीले देशका लागि खेलेको हुन्छ । उसले जितेको पदकमा सम्पूर्ण देशले गर्व गर्छ ।’ चन्द्रकला निकै प्रतिभावान् खेलाडी भएको उनले बताए । ‘उनले राष्ट्रिय स्तरमा त २०औँ वर्षदेखिका पुराना कीर्तिमान भंग गरेर आफूलाई प्रमाणित गरेकी छिन्,’ राणाले भने, ‘यदि राम्रो प्रशिक्षण पाउने हो भने उनले कम्तीमा दक्षिण एसियाली प्रतियोगितामा ज्याभलिन थ्रोतर्फ स्वर्णपदक नै जित्न सक्छिन् ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले दोषीमाथि कडा कारबाही गर्न माग गरे । ‘संविधानले नै जातीय दुव्र्यवहारका घटनालाई प्रतिबन्धित गरेको छ । संविधानले रोक लगाएको यस्तो अमानवीय घटनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ घोर भत्र्सना गर्छ,’ उनले भने, ‘घटनामा संलग्न व्यक्तिलाई कानुनअनुसार कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’

नेपाल प्रहरीको खेलकुद रेखदेख तथा व्यवस्थापक भरत शाहले गर्भवती अवस्थाकी खेलाडीमाथि अमानवीय घटना भएको बताए । ‘कसैमाथि पनि हुन नहुने यस्तो घटना राष्ट्रको गहना खेलाडीमाथि भएको छ । यसले हामीलाई पनि दुःखी तुल्याएको छ,’ उनले भने, ‘संविधानले पनि प्रतिबन्धित गरेको यस्तो घटनामा संलग्नलाई कारबाही हुन्छ नै । यही कारबाहीलाई हेरेर फेरि यस्तो घटना नदोहोरियोस् ।’
,