यसवर्ष १ लाख ६० हजार खरका छाना हटाइने, यस्तो छ सरकारी योजना - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

यसवर्ष १ लाख ६० हजार खरका छाना हटाइने, यस्तो छ सरकारी योजना



काठमाडौं- सरकारले देशभरका १ लाख ६० हजार फुसको छानो विस्थापित गर्ने कार्यक्रम सञ्चालन गरेको छ।

फुस तथा खरको छानो भएको घरमा आगलागी हुने जोखिम उच्च हुने र ठूलो जनधनको क्षति हुने निष्कर्ष निकाल्दै सरकारले खरको छाना विस्थापित गरेर जस्तापाताको छानो हाल्ने कार्यक्रम अगाडि बढाएको खबर आजको समाचारपत्र दैनिकमा मधुसूधन रायमाझीले लेखेका छन्।

यसअघि थोरै मात्र संख्यामा खरको छानो विस्थापित गर्ने कार्यक्रम सञ्चालन गरे पनि सरकारले चालु आर्थिक वर्षमा भने १ लाख ५० हजार फुसको छानो विस्थापित गरेर जस्ताको छानो हाल्ने भएको छ। शहरी विकास मन्त्रालयअन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभागले ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम अगाडि बढाएको छ।

देशको ७७ वटै जिल्लाको स्थानीय तहमा सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन भएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताए।

‘कार्यक्रमलाई पारदर्शी बनाउन दुईवटा समिति गठन भएको छ, कार्यक्रम कार्यान्वयन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएका छौं, समन्वयको काम विभागले गरिरहेको छ,’ उनले भने।

समितिले देशभर कुन जिल्लाको कुन स्थानीय तहमा कति संख्यामा छानो विस्थापित गर्ने निर्धारण गर्ने गरेको छ । समितिले हाललाई भूकम्प प्रभावित पुनर्निर्माण भइरहेका १४ जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा न्यूनतम २ सय र अन्य जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा न्यूनतम ५ सय र २०६८ सालको जनगणनालाई आधार बनाएर छानो विस्थापित गर्ने कोटा निर्धारण गरेको छ।

‘हाम्रो अनुमान अब ५ लाख खरको छानो फेर्नुपर्ने देखिन्छ, तीन वर्षभित्र देशभरका सम्पूर्ण फुस र खरको छाना विस्थापित गरेर जस्तापाता राख्छौं,’ गेलाले भने।