नेकपाभित्र खैलाबैला: प्रधानमन्त्रीले आफैले गरेको बाचा बिर्सिए
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीभित्र जारी विवाद समाधान गर्न बनाएको कार्यदलले यही हप्ताभित्र समाधानसहितको प्रतिवेदन बुझाउने तयारी गरेको थियो ।
तर, गएको सोमबार मन्त्रिपरिषद् बैठकले गरेका संवैधानिक तथा राजनीतिक नियुक्तिले दुई अध्यक्षका बीचमा फेरि मनमुटाव सुरु भएको छ । यसले नेकपाभित्र देखिएको शक्ति संघर्ष राजनीतिक नियुक्तितर्फ बल्झिएको छ ।
सत्तारुढ दल नेकपाभित्र राजनीतिक नियुक्तिले नयाँ विवाद सृजना गरेको छ । बिहीबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच यसै विषयमा झन्डै डेढ घन्टा चर्कार्ची परेको बुझिएको छ ।
पार्टीभित्रको संघर्ष समाधान गर्न कार्यदलले काम गरिरहेको अवस्थामा सरकारको निर्णयले विवाद समाधानमा कठिनाइ आउने प्रचण्डको बुझाइ छ ।
भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले थुप्रै नियुक्ति गरेपछि ओली–प्रचण्ड सम्बन्धमा पुनः चिसोपन आउने देखिएको छ । तर, नेकपाका नेताहरु त्यसलाई मान्न तयार छैनन् ।
ओलीले सरकारको तर्फबाट गरिने राजनीतिक नियुक्तिमा अर्का अध्यक्ष प्रचण्डसँग परामर्श नगर्नु नेकपाभित्र सृजना भएको नयाँ विवाद हो । यसले नेकपाभित्रको पद र शक्ति–संघर्षको विवाद राजनीतिक नियुक्तितर्फ मोडिएको भन्ने बुझ्न कठिन छैन ।
भदौ २ गते नै राजनीतिक नियुक्तिलाई लिएर ओलीसँग प्रचण्डले असहमति जनाइसकेका छन् ।
यता, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठलेसमेत प्रचण्डलाई भेटेर कार्यदलले काम गरिरहेको अवस्थामा सरकारले पार्टीभित्र कुनै छलफल नगरी काम गरेको भन्दै असन्तुष्टि जनाएका छन् । यसले अहिलेको राजनीतिक नियुक्तिले नेकपाभित्र ठूलै हलचल ल्याउने देखाएको छ ।
नेकपाभित्र देखिएको विवादको एउटा विषय प्रधानमन्त्री ओलीले पार्टीभित्र कुनै सल्लाह नगरी सरकार सञ्चालन गर्न खोजेको भन्नेपनि हो ।
यसअघि पार्टी सचिवालय र स्थायी कमिटि बैठकमा प्रधानमन्त्री ओलीले आत्मालोचना गर्दै सरकारले गर्ने महत्वपूर्ण निर्णय पार्टी र शीर्ष नेताहरुसँग छलफल गर्ने प्रतिबद्धता जनाएका थिए ।
तर, पछिल्लोपटक भएका राजनीतिक नियुक्तिमा प्रधानमन्त्री ओलीले कसैसँग परामर्श गर्न आवश्यक ठानेनन । उनको यो कदमले असन्तुष्टहरुको असन्तुष्टि झनै बढेर कार्यदलको काममा पनि प्रभाव पार्ने देखिन्छ ।