एक संक्रमितको खर्च: परिक्षणमा १ लाख र उपचारमा ४ लाख ५० हजार - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

एक संक्रमितको खर्च: परिक्षणमा १ लाख र उपचारमा ४ लाख ५० हजार



काठमाण्डाै – पाँच लाख ७९ हजार आठ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार पाँच सय रुपैयाँ खर्च भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो हिसाबले सरकारले एक जना काेराेना भाइरसकाे सङ्क्रमित पत्ता लगाउनका लागि एक लाख चार हजार ६ सय ३० रुपैयाँ खर्च भएको बताएको छ ।

नेपालमा अहिलेसम्म पाँच लाख ७९ हजार आठ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार पाँच सय रुपैयाँ खर्च भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

परीक्षण गरिएका मध्ये ३० हजार चार सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यस हिसाबबाट एक जना सङ्क्रमित पत्ता लगाउन सरकारको एक लाख चार हजार ६ सय ३० रुपैयाँ खर्च भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार एक हजार जनाको पीसीआर परीक्षण गर्नको लागि पीपीई सेट बाहेक प्रयोगशालामा मात्रै पाँच हजार पाँच सय रुपैयाँ खर्च हुन्छ ।

यस्तै आईसीयूमा राखेर उपचार गर्दा झनै बढी खर्च हुने मन्त्रालयले जनाएको छ । एक जना मानिसलाई ३० दिन आईसीयूमा राख्दा चार लाख ५० हजार रुपैयाँ खर्च हुने प्रवक्ता गौतमले जानकारी दिए ।

कोरोना भाइरसकाे परीक्षण र उपचार दुवै ज्यादै महँगो हुने भएकोले सकेसम्म स्वास्थ्यका मापदण्ड पालना गरेर सङ्क्रमण हुनै नदिन मन्त्रालयले आग्रह गरेको छ ।