नेपालमा एकैदिन हालसम्मकै धेरैको मृत्यु
काठमाडौं- नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।
शुक्रबार मृत्यु हुनेमध्ये एक महिला र १० पुरुष छन् । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठान गरेर ११ जिल्लामा एक–एक जना गरी ११ जनाको मृत्यु भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएकामध्ये २९२ महिला र ५३८ पुरुष छन् । योसहित नेपालमा संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।
काठमाडौं उपत्यकामा आज १८२ जनामा कोरोना भाइरस संक्रमण भेटिएका छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा १३ हजार ५७९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा ८३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा २५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।
नेपालमा १२ हजार १३२ जना सक्रिय सङ्क्रमित छन् । यस्तै १२ हजार २३४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।