बढी मत ल्याएर मात्र जितिदैन अमेरिकी चुनाव: रोचक छ कहानी - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

बढी मत ल्याएर मात्र जितिदैन अमेरिकी चुनाव: रोचक छ कहानी



काठमाडौं । विश्व युद्ध, वैश्विक महामारी र जलवायु परिवर्तन जस्ता अन्तर्राष्ट्रिय संकटको सामनाका लागि अमेरिकाका राष्ट्रपतिको अहम् भूमिका रहन्छ । यही कारण हरेक चार वर्षपछि आउने अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा विश्वको ध्यान केन्द्रित हुन्छ । तर, धेरैलाई अमेरिकी चुनावी प्रक्रियाका बारेमा जानकारी भने हुँदैन ।

कहिले हँदैछ चुनाव र को छन् उम्मेदवार ?

अमेरिकी राष्ट्रपतिको निर्वाचन सधै नोभेम्बरको पहिलो मंगलबार हुने गर्दछ । यसपटक यो तारिख नोभेम्बर ३ मा छ । अन्य देशभन्दा ठीक विपरीत अमेरिकाको राजनीतिक व्यवस्थामा मुख्यतया दुई पार्टीकोमात्रै वर्चश्व छ । यसकारण राष्ट्रपति यिनै दुई पार्टीमध्ये कुनै एक पार्टीको हुने गर्दछ । अमेरिकाको रिपब्लिकन पार्टी एक पुरातनवादी राजनीतिक दल हो । उक्त पार्टीबाट यसपटक राष्ट्रपति डोनाल्ड ट्रम्प उम्मेदवार छन् ।

उनी आगामी चार वर्षसम्म फेरि राष्ट्रपति बन्ने प्रयासमा लागेका छन् । रिपब्लिकन पार्टीलाई अमेरिकाको सबैभन्दा पुरानो पार्टी मानिन्छ । पछिल्ला वर्षहरुमा यो पार्टी कम ट्याक्स, बन्दुक राख्ने अधिकार र प्रवासीहरुमाथि कडा प्रतिबन्ध लगाउने पार्टीका रुपमा चिनिन्छ । अमेरिकाका अधिकांश ग्रामीण क्षेत्रमा यो पार्टीको आधार बलियो मानिन्छ । पूर्व राष्ट्रपति जर्ज डब्लू बुश, रोनाल्ड रिगन र रिचर्ड निक्सन रिपब्लिकन पार्टीबाट निर्वाचित भएका थिए ।

अमेरिकाको अर्को प्रमुख पार्टी डेमोक्रेट्स लिबरल पार्टी हो । यसवर्ष हुन गइरहेको निर्वाचनमा जो बाइडन यो पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार छन् । उनी एक अनुभवि नेता हुन् । बाराक ओबामाले आठ वर्षसम्म राष्ट्रपति पद सम्हाल्दा उनी उपराष्ट्रपति थिए । यी दुबै उम्मेदवारहरुले उमेरको सातौं दशक पूरा गरिसकेका छन् । डोनाल्ड ट्रम्प ७४ वर्षका छन् भने बाइडन ७८ वर्षका । यदि उनी राष्ट्रपति बने भने पहिलो ‘टर्म’ मा राष्ट्रपति बन्ने सबैभन्दा पाको उमेरका व्यक्ति हुनेछन् ।

विजेताको निर्णय कसरी हुन्छ ?

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रिय स्तरमा सबैभन्दा बढी मत आउने व्यक्ति सधैँ विजयी हुँदैन । जस्तो कि हामीले २०१६ मा हिलारी क्लिन्टनलाई देखेका थियौं । उनलाई देशभरमा सबैभन्दा बढी मत आएको थियो । तर, हिलारी पराजित भएकी थिइन ।

त्यसका लागि उम्मेदवारहरुलाई ‘इलेक्टोरल कलेज भोट’ मा जित्नु पर्दछ । अमेरिकाका हरेक राज्यमा एक निश्चित संख्यामा ‘इलेक्टोरल कलेज भोट’ हुन्छ । जुन राज्यको जनसंख्यामा निर्भर रहन्छ । कुल पाँच सय ३८ भोट (मत) हुन्छन् । जसमध्ये दुई सय ७० वा त्योभन्दा बढी भोट जित्नका लागि हासिल गर्नुपर्ने हुन्छ ।यसको मतलब कसैले आफूलाई मन पर्ने उम्मेदवारलाई मत दिन चाहन्छ भने राज्य स्तरमा हुने प्रतिष्पर्धामा मत दिनुपर्दछ न कि राष्ट्रिय स्तरमा । सबैभन्दा बढी मत पाउने उम्मेदवारलाई राज्यका सबै ‘इलेक्टोरल कलेज भोट’ जान्छ ।

अधिकांश राज्य कुनै एक पार्टीका तर्फ बढी झुकाव राख्दछन् । यसको मतलब हुन्छ कि उम्मेदवारले त्यो राज्यमा बढी ध्यान दिन्छ । जहाँ उसको जित्ने सम्भावना रहन्छ । यस्ता राज्यहरुलाई ‘बेटल ग्राउन्ड स्टेट’ भनिन्छ ।

कसले कसरी मत दिन्छन् ?

अमेरिकामा १८ वर्ष वा त्योभन्दा माथिको उमेरका मानिसहरुले अमरिकी राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न सक्छन् । यद्यपि, कैयौं राज्यहरुले मतदान अगाडि मतदाताहरुले आफ्नो परिचय खुल्ने दस्तावेज देखाउनै पर्ने कानुन बनाएका छन् । रिपब्लिकन पार्टीको उक्त कानुनमा विशेष जोड रहिआएको छ । निर्वाचनमा हुने धाँधली रोक्न यो कानुन आवश्यक रहेको उसको बुझाइ छ । तर, डेमोक्रेट्स गरिब र अल्पसंख्यक मतदाताहरुमाथि यो कानुन दुरुपयोग हुने गरेको दाबी गर्दछन् ।

सवारी चालक अनुमतिपत्र जस्ता परिचय खुल्ने पत्र देखाउन उनीहरु असमर्थ हुने गरेको डेमोक्रेट्सको भनाइ छ ।

अलग–अलग राज्यहरुमा कैदीहरुले मतदान गर्ने नियम पनि अलग–अलग छन् । अधिकांश आरोपीहरु घटनामा दोषी ठहर भएपछि मतदानको अधिकार गुमाउँछन् तर सजाय भुक्तान गरिसकेपछि उनीहरुलाई फेरि मतदानको अधिकार हासिल हुन्छ । अधिकांश मानिसहरु मतदान केन्द्रमै मत हाल्छन् । तर, हालैका वर्षहरुम वैकल्पिक व्यवस्था पनि सुरु भएको छ । २०१६ मा २१ प्रतिशत मतदाताहरुले पोस्टबाट मतदान गरेका थिए ।

यसपल्ट मानिसहरुले मतदान केन्द्रमा गएर मतदान गर्ने प्रावधान कोरोना भाइरसको महामारीका कारण बहसको विषय बनेको छ । केही नेताहरुले बढीभन्दा बढी डाक (हुलाक) बाट मतदान गरिनुपर्ने मुद्दा उठाइ रहेका छन् । तर, राष्ट्रपति ट्रम्पले अत्यन्तै थोरै प्रमाणहरुका आधारमा हुलाकमार्फत् मतदान गर्दा बढी धाँधली हुन सक्ने बताएका छन् ।

के यो निर्वाचन केवल राष्ट्रपति चुन्नका लागि मात्रै हो ?

होइन, सबैको ध्यान ट्रम्प र बाइडनबीचको प्रतिष्पर्धामा मात्रै छ । तर, अमेरिकी मतदाताहरु यो चुनावमा संसदका नयाँ सदस्यहरुको पनि चयन गर्ने छन् । डेमोक्रेट्सको यसअघि नै कांग्रेसमा बहुमत छ । यसकारण उसले त्यसलाई कायम राख्ने प्रयास गर्ने छ भने सीनेटमा पनि बहुमत ल्याउने भरमग्धुर कोसिस गर्ने छ ।

यदि दुबै सदनमा डेमोक्रेट्सले बहुमत हासिल गरे राष्ट्रपति ट्रम्प फेरि राष्ट्रिपतिमा निर्वाचित भए पनि योजनाहरु लागु गर्न असमर्थ रहने स्थितिमा हुने छन् । यस वर्ष सदनका सबै चार सय ३५ सिटमा चुनाव हुँदै छ । यस्तै ३३ सीनेटका लागि पनि चुनाव हुने छ ।

नतिजा कहिले आउँछ ?

निर्वाचनको परिणाम सार्वजनिक हुन कैयौं दिन लाग्न सक्छ । किनकि हरेक मत गणना गर्नुपर्ने हुन्छ । तर, सुरुवाती घण्टामा देखिने रुझानबाटै निर्वाचित हुने उम्मेदवारका बारेमा अनुमान लगाउन भने सकिन्छ । २०१६ मा डोनाल्ड ट्रम्पले बिहान ३ बजे नै न्युयोर्कमा आप्mनो जीतको भाषण दिएका थिए ।

विजेताले कहिले कार्यभार सम्हाल्छन् ?

यदि जो बाइडनले निर्वाचन जिते पनि तत्काल ट्रम्पलाई हटाएर कार्यभार सम्हाल्न सक्दैनन् । किनकि क्याबिनेट मन्त्रीहरु चुन्न अर्थात योजनाहरु बनाउनका लागि एक निश्चित समय सीमा निर्धारण गरिएको हुन्छ । नयाँ राष्ट्रपति आधिकारिक रूपले जनवरी २० मा शपथ ग्रहण गर्दछन् । शपथ ग्रहण समारोह वासिङटन डीसीको क्यापिटल बिल्डिङको सिँढीहरुमा हुन्छ । समारोहपछि नयाँ राष्ट्रपति चार वर्षसम्म आफ्नो दायित्व निभाउन ह्वाइट हाउस जान्छन् । बीबीसी