प्रहरीमाथि चरम शोषण: दैनिक १८ घन्टासम्म ड्युटी, दुई वर्षमा एक जोर युनिफर्म - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

प्रहरीमाथि चरम शोषण: दैनिक १८ घन्टासम्म ड्युटी, दुई वर्षमा एक जोर युनिफर्म



काठमाडौं- दैनिक १८ घन्टासम्म ड्युटीमा खटिने प्रहरीले दुई वर्षमा एक जोर युनिफर्म र तीन वर्षमा एक जोर बुट पाउँछन् । अझ जाडोमा लगाउने मोजा त वर्षको एक जोर मात्रै पाउँछन् भन्दा अनौठो लाग्न सक्छ ।

तर, तीन करोड नेपालीको सुरक्षा गरिरहेका ८० हजार प्रहरीले वर्षौंदेखि पोसाकजस्तो आधारभूत सुविधाको पनि अभाव झेलिरहेका छन् । ड्युटीमा खटिँदा लगाउनुपर्ने पोसाक र बुटसमेत उनीहरूले आफ्नै तलबबाट किन्नुपर्ने बाध्यता रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

प्रहरी नियमावलीअनुसार एक वर्षमा प्रहरीले एक जोर चुस्ता र कार्यालयमा बस्दा लगाउने सर्ट–पाइन्ट दुई जोर पाउँछन् । तर, प्रहरीकै अध्ययनले नियमावलीको व्यवस्थाअनुसार सुविधा नपाएको देखाएको छ । सरकारले थोरै बजेट दिने र प्रहरीले त्यही पनि समयमा खरिद नगर्ने हुँदा समस्या बढेको अध्ययनको निष्कर्ष छ।

पोसाकलगायत स्केलका सामानको समस्याबारे बुझ्न प्रहरी प्रधान कार्यालयले एसएसपी पुरुषोत्तम कँडेलको नेतृत्वमा हालै गरेको आन्तरिक अध्ययनअनुसार धेरै प्रहरीले दुई वर्षमा पनि चुस्ता पाउँदैनन् ।

सरकारले एक वर्षमा ३५ हजार चुस्ता खरिद लागि मात्र बजेट दिने गरेको छ, जब कि प्रहरीको जनशक्ति ७९ हजार पाँच सय ४२ छ । त्यही पनि समयमै खरिद नहुने भएकाले कतिपय प्रहरीले तीन वर्षमा एक जोर चुस्ता पाउने अवस्था रहेको अध्ययनले देखाएको छ । फिल्डमा खटिने प्रहरीले चुस्ता लगाउँछन् । घाम, पानी र धुलोका कारण एउटा चुस्ताले ६ महिना मात्रै पुग्ने प्रहरीको गुनासो छ । त्यसपछि आफैँले किन्नुपर्ने एक प्रहरीले बताए।

त्यस्तै, कार्यालयमा बस्दा वर्किङ ड्रेसका रूपमा लगाउने टेरिकटनको सर्ट–पाइन्ट पनि मुस्किलले एक जोर पाउने गरेका छन् । कपडा खरिदमा हुने चलखेलका कारण युनिफर्म गुणस्तरीय आउँदैन । प्रहरीको पोसाक थोत्रो र खुइलिएको देखिनुको कारण अध्ययनमा यसैलाई औँल्याइएको छ।

प्रहरीले पाउने जाडोको कपडा त तीन वर्षलाई पु¥याउनुपर्ने हुन्छ । जाडोका लागि प्रहरीलाई तीन वर्षमा एउटा ज्याकेट, एउटा उलन पाइन्ट र एउटा ऊनी जर्सी दिइन्छ । त्यस्तै, दुई वर्षमा एउटा उलन सर्ट र वर्षमा एक जोर मोजा पाउने व्यवस्था छ । तर, यो पनि प्रहरीले तोकिएको समयमा पाउँदैनन् ।