सन्दीपले पहिलो खेलमै कमाल देखाए - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

सन्दीपले पहिलो खेलमै कमाल देखाए



एजेन्सी- ट्रिनिडाड, क्याराबिन प्रिमियर लिग(सीपीएल) मा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध टोली जमैका तल्लवाशले जित हात पारेको छ ।

लिगको आफ्नो पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जुक्सलाई ५ विकेटले हराएको हो ।

गएराति भएको ब्रायन लारा रंगशालामा भएको खेलमा जमैकाले टस जितेर सेन्ट लुसियालाई पहिले ब्याटिङको निम्ता दिएको थियो । पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो । १५९ रनकोे लक्ष्य जमैकाले १८.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

जमैकाका लागि आसिफ अलीले सर्वाधिक ४७ रन बनाए । पाँचौ नम्बरमा ब्याटिङमा आएका अलीले २७ बलमा ४ चौक र २ छक्का प्रहार गर्दै नटआउट रहे ।
ग्लेन फिलिप्सले ४४ तथा कप्तान रोभमन पोवेलले २६ रनको योगदान दिए ।

सेन्ट लुसियाका लागि केस्रिक विलियम्सले २, स्कट कुग्गेलेइजन, आबेद म्याकोय र रहकिम कर्नवालले समान १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेकोे सेन्ट लुसिया जुक्सका लागि रोस्टन चेसले अर्धसतकीय पारी खेले ४२ बलको सामना गरेका उनले ४ चौका तथा २ छक्काको मदतमा ५२ रन प्रहार गरे । नजिबउल्लाह जाद्रनले २५ र आन्द्रे फ्लेक्चरले २२ रनको योगदान दिए ।

जमैकाका लागि विरसामी पेरुमल र मुजिब उर रहमानले समान २ तथा सन्दीप लामिछाने र आन्द्रे रसेलले समना १ विकेट हात पारे । जमैकाले आफ्नो दोस्रो खेल शुक्रबार बिहान ट्रिन्बागो नाइटराइडर्ससंग खेल्नेछ ।

सन्दीपको किफायती बलिङ

सन्दीपले खेलमा एक विकेट हात मात्रै लिन सकेपनि उत्कृष्ट बलिङ गरे । ४ ओभरमा २४ रन मात्रै दिएका सन्दीप यस खेलमा उनको टोलीबाट सबैभन्दा किफयती बलर बने ।

९औं ओभरमा बलिङमा आएका सन्दीपले यस ओभरमा ८ रन दिए । त्यसपछि ११औं ओभरमा ३ रन मात्रै दिएका उनले १३औं ओभर फेरि ८ रन दिए । १५औं ओभरको दोस्रो बलमा विकट लिन सफल भए । २१ बलमा २५ रन बनाएर खेलिरहेका आफगान खेलाडी नाजिबउल्लाहलाई पावेलको हातबाट क्याच आउट गराए । यस ओभरमा ४ रन मात्रै दिए ।