ट्रम्प अमेरिकाका लागि सबैभन्दा घातक राष्ट्रपति: मिसेल ओबामा
एजेन्सी- अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना गरेकी छन् ।
राष्ट्रपतीय चुनावमा डेमोक्रयाटिक पार्टीका तर्फबाट जो बाइडेनलाई औपचारिक उम्मेदवार घोषणा गर्न सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओबामाले ट्रम्पको कडा आलोचना गरेकी हुन् ।
अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतीय चुनाव हुँदै छ । भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति बाराक ओबामा पत्नी मिसेलले अमेरिकाका राष्ट्रपतिका लागि ट्रम्प सही व्यक्ति नभएको दाबी गरिन् ।
‘डोनाल्ड ट्रम्प हाम्रो देशका लागि गलत राष्ट्रपति हुन्,’ मिसेलले भनिन् । राष्ट्रपति ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को महामारी र यसबारेका विभिन्न तथ्यलाई बेवास्ता गरेका कारण अर्थतन्त्र खराब भएको उनको आरोप छ ।
सम्बोधनका क्रममा मिसेलले ट्रम्प प्रशासननले अमेरिकीमा विभाजन ल्याएको र दाबी गरिन् । ट्रम्पप्रति लक्षित गर्दै मिसेलले ‘ब्ल्याक लाइफ म्याटर्स’ लाई अझै पनि देशको सर्वोच्च निकायले उपहास गरिरहेको बताइन् ।
‘हाम्रा नेताहरुले नागरिकलाई राज्यको दुश्मनका रूपमा प्रस्तुत गरेको देखिएको छ । श्वेत प्राधनताका पक्षपातीहरुको समर्थन सर्वोच्च कार्यालयबाटै भएको छ,’ मिसेलले भनिन्
काम गर्नका लागि ट्रम्पले यथेष्ट समय पाएका भए पनि उनी गम्भीर नरहेका मिसेलको गुनासो छ । ‘उनले आफूलाई प्रमाणित गर्न आवश्यकभन्दा धेरै समय पाए । तर उनलाई त्यसमा कुनै वास्ता छैन,’ मिसेलले भनिन् ।
सम्बोधनका क्रममा मिसेलले जो बाइडेन निकै सभ्य र योग्य भएको बताइन् । ‘हामीले हाम्रो जीवन अडिएको ठानेर जो बाइडेनलाई मत दिनुपर्छ,’ उनले भनिन् ।
राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै मिसेलका श्रीमान् (बाराक ओबामा) का कारण ह्वाइटहाउस प्रवेश गर्न पाएको प्रतिक्रिया दिएका छन् । उनले आफू दोस्रो कार्यकालका लागि पुन: निर्वाचित हुने र बाइडेनले पराजय भोग्ने दाबी गरेका छन् ।