सर्वसाधारणलाई बैंकमा नजान बैंकर्स संघको आग्रह - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सर्वसाधारणलाई बैंकमा नजान बैंकर्स संघको आग्रह



काठमाडौं- नेपाल बैंकर्स संघले अत्यावश्यक अवस्थामा बाहेक बैंकका शाखा कार्यालयमा नआउन सर्वसाधारणलाई अपिल गरेको छ। बैंकका कर्मचारीहरुलाई कोरोनाको संक्रमण बढ्न थालेपछि संघले यस्तो अपिल गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को प्रभावबाट बँच्न तथा जोखिमहरु न्यूनीकरणका लागि डिजिटल बैंकिङ कारोबार गर्न संघले अनुरोध गरेको छ।

डिजिटल बैंकिङको माध्यमबाट प्रायजसो सबै प्रकारका दैनिक कारोबार गर्न सकिने हुनाले डिजिटल बैंकिङ सेवाको अझ बढी प्रयोग गर्न बैंकहरुले अनुरोध गरेका छन्।

एउटा ‍खाताबाट अर्को खातामा रकम जम्मा गर्न, विभिन्न बिल भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्नलगायतका काम सहज रुपमा डिजिटल बैंकिङबाट सकिने भएकाले घरमै बसी सहज रुपमा बैंकिङ सुविधा लिन संघले ग्राहकरुलाई अपिल गरेको हो।

डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै पनि प्राविधिक समस्या भएमा, पासवार्ड बिर्सिएमा वा अन्य कुनै आप्ठ्यारो परेको खण्डमा सम्बन्धित बैंकको शाखामा फोनमार्फत सम्पर्क गरि सहयोग लिन सकिनेछ। आफ्नो खाता वा खाताबाट भएको कारोबारको सिलसिलामा कुनै पनि जानकारी वा प्रश्न भएमा समेत सम्बन्धित शाखामा फोनमार्फत सम्पर्क गर्न सकिनेछ।

अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्नका निमित्त सहयोग गरिदिन ग्राहकहरुमा संघले अनुरोध गरेको छ। संघले ‘घरबाटै कारोबार गरौं, आफू र अरुलाई सुरक्षित राखौ’। नारासहित सबैलाई अनुरोध गरेको हो।