भ्याक्सिन उत्पादनमा पहिलो हुने होडमा रुसको लापरवाही - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

भ्याक्सिन उत्पादनमा पहिलो हुने होडमा रुसको लापरवाही



–एजेन्सी– रुस सरकारले कोरोना भ्याक्सिन स्पुतनिक–५ लाई उत्पादनको अनुमति दिएको छ। भ्याक्सिन उत्पादन सुरु भइसकेको पनि छ। आगामी अक्टोबरदेखि भ्याक्सिन लगाउन सुरु गरिने बताइएको छ। आम मानिसका लागि उपलब्ध हुने यो नै पहिलो कोरोना भ्याक्सिन हुनेछ।

रुसले उत्पादन गरेको भ्याक्सिनलाई लिएर कैयौं प्रश्नहरु पनि उठिरहेका छन्। तेस्रो चरणको परीक्षण नै नगरी उत्पादन सुरु भएको यो भ्याक्सिनको विश्वसनीयतामा वैज्ञानिकहरुले नै प्रश्न उठाएका छन्। छिटो गर्ने चक्करमा रुसले भ्याक्सिनको विश्वसनीयतामा सम्झौता गरिरहेको उनीहरुको आरोप छ।

रुसमै गरिएको एक स्वतन्त्र सर्वेक्षणको नतिजाले पनि यसको विश्वसनीयतामा प्रश्न उठेको छ। सर्वेक्षणमा सहभागी आधाभन्दा बढी स्वास्थ्यकर्मीले उक्त भ्याक्सिन लगाउन नचाहेको बताएका छन्, किनकी रुसले बनाएको भ्याक्सिनप्रति उनीहरुमा विश्वास छैन।

कोरोनाबाट अत्यधिक प्रभावित अमेरिका र ब्राजिलले रुसले तयार गरेको भ्याक्सिन प्रयोग नगर्ने बताएका छन्। अर्को पीडित मुलुक भारतले आधिकारिक रुपमा केही भनेको छैन।

उता, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भने रुसी भ्याक्सिन पूर्णतः विश्वसनीय रहेको दाबी गर्दै आफू नै उक्त भ्याक्सिन लगाउन तयार रहेको बताएका छन्।

कोरोना भ्याक्सिन उत्पादन गर्ने पहिलो देश बनेको छ, रुस। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो कुरा बारम्बार बताइरहेका छन्। भ्याक्सिन उत्पादनमा कुनै खेलबाड नगरिएको दाबी उनको छ। भ्याक्सिनबारे अरुलाई विश्वास दिलाउने उनले आफ्नै छोरीलाई एक डोज दिलाएका छन्।

रुसले कोरोनाको भ्याक्सिन बनाएपछि अरु देशलाई पनि निकै दबाब बढेको छ। भ्याक्सिन बनाउने प्रयास गरिरहेका सबै देश चाँडोभन्दा चाँडो उत्पादन गर्ने हतारमा छन्। हतार गर्ने चक्करमा महत्वपूर्ण चरण छुट्न सक्नेतर्फ वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन्।

रुसले त्यही गरेको छ। भ्याक्सिन उत्पादनमा निकै महत्वपूर्ण मानिने तेस्रो चरणको परीक्षण नै उसले ‘स्किप’ गरिदिएको छ। यसको परिणाम घातक हुनसक्छ। रुसी भ्याक्सिन सफल नभएको खण्डमा भ्याक्सिनप्रति मानिसको विश्वास नै टुट्न सक्ने खतरा छ।