यो पटकको आइपिएल धेरै खेलाडीले गुमाउने - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

यो पटकको आइपिएल धेरै खेलाडीले गुमाउने



एजेन्सी- इङ्ल्यान्ड र अस्ट्रेलियाका क्रिकेटरद्वय बेन स्टोक्स र प्याट कमिन्सले दुबईमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) गुमाउन सक्ने सम्भावना बढेको छ।

सेम्टेम्बर ४ देखि इङ्ल्यान्ड र अस्ट्रेलियाबीच शृंखला तय हुँदा इङ्ल्यान्डका शीर्ष खेलाडी बेन स्टोक्स र अस्ट्रेलियाका प्याट कमिन्सको सम्भावना आइपिएलमा न्यून देखिएको हो। विश्वको सबैभन्दा महँगो मूल्यमा आयोजना हुने ट्वान्टी–२० प्रतियोगिता भारतीय सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा गर्न अनुमति दिएसँगै उनीहरूको सहभागिता कमजोर देखिएको हो। यद्यपि आइपिएलको मिति भने तय भएको छैन।

विश्वभर फैलिएको कोरोना महामारीपछि धकेलिएको प्रतियोगितामा सहभागी हुन एक साता आइसोलेसन बसेर कोरोना परीक्षणपछि मात्र टिममा बस्ने प्रावधान बनाइएको छ। इङ्ल्यान्ड र अस्ट्रेलियाको शृंखलाले यसमा असर पार्ने अनुमान गरिएको हो।

इन्डियन प्रिमियर लिगको एक क्लब चेन्नई सुपर किङ्सका प्रमुख कार्यकारी कासी विश्वनाथनले क्वारिन्टिनको नियम इङ्लिस र अस्ट्रेलियन केही खेलाडीमा लागू हुने बताए। यो नियम लागू हुँदा दुई अथवा तीन खेल उनीहरूले गुमाउन सक्ने दाबी गरेका छन्।

‘क्वारिन्टिनको नियम पालना भएपछि मात्र उनीहरूले टिममा स्थान पाउँछन् र अनि मात्र अभ्यासमा सामेल हुनेछन्,’ प्रमुख कार्यकारी विश्वनाथनले भने।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहने टोली चेन्नईमा अस्ट्रेलियाका तीव्र गतिका बलर जोस हाज्लेउड र इङ्ल्यान्डका साम कुरान छन्। यस्तै राजस्थान रोयल्समा अस्ट्रेलियाका स्टिभ स्मिथ, सनराइजर्स हैदराबादमा अस्ट्रेलियाका डेभिड वार्नर आबद्ध छन्। सबैभन्दा महँगो मूल्यमा खरिद भएका यी खेलाडीलाई पनि अन्तर्राष्ट्रिय शृंखलाले असर पार्ने भएको हो।

यता अस्ट्रेलियाली क्रिकेट टोलीका सहायक प्रशिक्षक एन्ड्रिउ म्याकडोनाल्डले इङ्ल्यान्ड भ्रमणमा सहभागी नहुने जनाइसकेका छन्। राजस्थान रोयल्समा प्रमुख प्रशिक्षक रहेका म्याकडोनाल्डले आइपिएलमा सहभागी हुने संकेत दिएका छन्।

‘सम्झौता नै आइपिएल भएको अवस्थामा उनी राजस्थान रोयल्ससँग जोडिन पाउने थियो। हामी यसमा लचक पनि बनेका थियांै,’ क्रिकेट अस्ट्रेलिया (सिए) का कार्यकारी महाप्रबन्धक बेन ओलिभरले भने।

राजस्थान रोयल्समा इङ्ल्यान्डका बेन स्टोक्स, जोफ्रा आर्चर, जोस बट्लर र टम कुरान छन्। उनीहरूसँगै अस्ट्रेलियाबाट स्मिथ र एन्ड्रिउ टाई राजस्थानमा छन्। आइपिएलमा इङ्ल्यान्ड र अस्ट्रेलियाबाट कुल २९ खेलाडी आबद्ध छन् ।