सीमा विवादपछि नेपाल र भारत संयन्त्रको पहिलो बैठक आज - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सीमा विवादपछि नेपाल र भारत संयन्त्रको पहिलो बैठक आज



काठमाडौँ – नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक सोमबार बस्दैछ। भारतको सहयोग वा सहकार्यमा सञ्चालन भएका परियोजनाहरुको मूल्यांकनका लागि दुई देशका अधिकारीबीच छलफल हुन लागेको परराष्ट्र स्रोतले जानकारी दिएको छ।

कोरोना भाइरसको महामारीका कारण सो बैठक भिडियो कन्फ्रेन्समार्फत हुन लागेको हो । बैठक बिहान १० बजेपछि सुरु हुने स्रोतले जानकारी दिएको छ।

भर्च्युअल बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागीले गर्ने छन् भने भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत वियन मोहन क्वात्राले गर्ने जनाइएको छ।

कालापानी–लिम्पियाधुरा–लिपुलेकलाई लिएर सीमा विवादले तनावको सिर्जना भएपछि पहिलोपटक नेपाल र भारतबिच आधिकारिक तहमा छलफल हुने भएको हो।

यसअघि शनिबार भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन संवाद भएको थियो।

भारतको सहयोगमा नेपालको तराई क्षेत्रमा सडक तथा रेल मार्ग निर्माण भइरहेको छ भने भूकम्पपछिको पुनर्निर्माण, प्रहरी प्रशिक्षण एकेडेमी, पोलिटेक्निक कलेज तथा पाइपलाइन निर्माणको काम पनि भइरहेको छ।

परियोजनाहरुको मूल्यांकनका लागि सन् २०१६ मा गठन गरिएको संयुक्त संयन्त्रको बैठक पछिल्लो पटक सन् २०१९ को जुलाईमा भएको थियो। सोमबार बस्न लागेको संयन्त्रको आठौँ बैठक हो ।