लामो समयपछि ओली–मोदी संवाद
काठमाडौं- दुई मुलुकका प्रधानमन्त्रीले टेलिफोन संवाद गरेसँगै भारत र नेपालबीच झन्डै चार महिना लामो संवादहीनता शनिबार तोडिएको छ । भारतको स्वतन्त्रता दिवसको मौका छोपेर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिन टेलिफोन गर्दै चिसिएको सम्बन्धलाई संवादमार्फत अघि बढाउने कोसिस गरेका हुन् ।
यसअघि चैत २८ गते प्रधानमन्त्री ओली र मोदीबीच ‘नेपालमा आपूर्ति व्यवस्था निरन्तर कायम राख्न र थप सहज तथा सुचारु राख्न’ छलफल भएको थियो । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडकको ट्र्याक उद्घाटन गरेपछि दुई देशबीच सम्बन्ध चिसिएको कान्तिपुरमा जगदीश्वर पाण्डेले खबर लेखेका छन् ।
झन्डै ११ मिनेट भएको संवादका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपालले भारतबाट अर्थपूर्ण द्विपक्षीय सहकार्यको अपेक्षा गरेको बताएका थिए । परराष्ट्र मन्त्रालयका अनुसार दुई प्रधानमन्त्रीबीच भविष्यमा द्विपक्षीय छलफललाई जारी राख्न सहमति भएको छ । सीमा विवादबारे कुरा भएको वा नभएको बारे खुलाइएको छैन । छिमेकीसँगको सम्बन्धमा जोड दिएर मोदीले शनिबार बिहान स्वतन्त्रता दिवसका अवसरमा गरेको भाषणको ओलीले सराहनासमेत गरेको परराष्ट्रले विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रधानमन्त्री ओलीले मोदीसँग कोभिड–१९ खोपको आवश्यकता औंल्याउँदै भारतलगायत विश्वभरका वैज्ञानिकहरू यसको विकास गर्न सक्षम हुने आशा राखेको बताएका थिए । ओलीले भारतीय समकक्षीलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएकामा बधाई पनि दिए । नेपालले निर्वाचनमा भारतलाई समर्थन गरेको थियो । भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति निकालेर संवादमा दुवै मुलुक मिलेर कोभिड–१९ संक्रमणलाई कम गर्ने सहमति भएको जनाएको छ ।
कूटनीतिज्ञ श्रीधर खत्री दुई प्रधानमन्त्रीबीच संवाद हुनुलाई राम्रै संकेत मान्छन् । उक्त संवादलाई विशेष समयमा एक छिमेकीले अर्को छिमेकी वा एक मुलुकले अर्को मुलुकलाई गरेको ‘शुभकामना आदानप्रदान’ का रूपमा लिनुपर्ने उनले बताए । पूर्वराजदूत विजयकान्त कर्णले दुई मुलुकबीचको संवादहीनता तोड्न ओली सही बाटो रोजेको बताए । ‘अब हामीबीच विश्वासको वातावरण बढाउँदै जानुपर्छ,’ उनले भने, ‘विश्वासको वातावरण बनेपछि क्रमशः अन्य कुरा गर्दै सीमा समस्यालाई पनि वार्ताद्वारा समाधान गर्नुपर्छ ।’