भक्तपुरमा १० दिन लकडाउन: यस्ता गतिविधिमा प्रतिबन्ध लगाइयो
भक्तपुर- काठमाडौं उपत्यकामा दिनहुँ कोरोना संक्रमित बढ्न थालेपछि संक्रमणले भयावह रुपमा लिन सक्ने देखिएपछि आज (साउन ३२) देखि भदौ ९ गतेसम्मका लागि भक्तपुरको मध्यपुरथिमी नगरपालिका क्षेत्रभित्र लकडाउन गरिएको छ ।
बढ्दो संक्रमणलाई समुदायस्तरमा फैलिन नदिन नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहित शनिबार साँझ बसेको आकस्मिक बैठकले मध्यपुरथिमी नगर क्षेत्र आउँदो भदौ ९ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख मदनसुन्दर श्रेष्ठले समुदायस्तरमै कोरोना फैलिएको अवस्थाका कारण स्थिति थप बिग्रन नदिन भदौ ९ गतेसम्म नगरपालिका क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको बताएका छन् ।
नगरपालिकाले अत्यावश्यक खाद्य पदार्थ, पानी, ग्यास र औषधि पसल बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा मात्रै खोल्न पाइने तथा अन्य व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।
लकडाउन अवधिभर नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गको पूर्वतर्फ हनुमन्ते नदी तथा राधेराधेदेखि पश्चिमतर्फ जडिबुटी मनोहरा पुलसम्म कुनै सवारी साधनले मान्छे चढाउन र ओराल्न नपाउने निर्णय भएको छ ।
नगरपालिकाले सङ्घीय सरकारलाई अरनिको राजमार्गमा यातायातका साधन सञ्चालनमा रोक लगाउन पनि माग गरेको छ । तत्कालका लागि अरनिको राजमार्गमा कुनै सवारी साधन रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी लकडाउनको निर्णय गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार नगरपालिका क्षेत्रभित्र कुनै पनि सडकमा अत्यावश्यक सवारी साधनबाहेकका सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ । त्यसैगरी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल पनि शनिबार शिल गरिएको छ ।
अस्पतालमा कार्यरत तीन नर्स र एक सहयोगी गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिएका छन् । अस्पतालमा कोरोना संक्रमित भेटिएपछि आकस्मिक कक्ष बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।
संक्रमित नर्स तथा कर्मचारीलाई अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिएको र कर्मचारीलाई क्वारेन्टिनमा राखिएको उनले जानकारी दिए । शनिबारसम्म भक्तपुरमा १२४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।