प्रचण्डले भने: ओलीले धोका दिने र बदला लिने काम मात्रै गरे
काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धोकाधडी, षड्यन्त्र र बदला लिने काम मात्रै भएको गुनासो गरेका छन् ।
दाहाल–नेपाल निकटका प्रदेश ५ का केन्द्रीय सदस्यहरूको भेलालाई सम्बोधन गर्दै दाहालले अरूलाई छक्याएर, झुक्याएर आफूलाई ठूलो देखाउने ओलीको बानी रहेको र त्यसै कारण पनि पार्टी एकता प्रक्रियामा अवरोध आएको बताएका थिए ।
उनले ओलीले दुईमध्ये एक पदबाट राजीनामा दिनुपर्छ भन्ने आफ्नो पुरानो अडान यथावत् रहेको र बिहीबारको छलफलमा पनि त्यही कुरा दोहोर्याएको बताएका थिए ।
बैठकमा दाहालले कुनै पनि हालतमा पार्टी नफुट्ने भन्दै तल्लो तहका कार्यकर्ताका माझमा सन्देश प्रवाह गर्न पनि भेलामा आग्रह गरेका थिए ।
‘पुराना विवाद यथावत् छन्, उहाँ, उहाँकै कुरामा हुनुहुन्छ,’ दाहालले भेलामा भने, ‘पार्टी एकताका लागि भनेर हामीले उहाँको लचकता पर्खिएर बसेका छौं ।’ उनले पार्टी बैठकबाट भाग्ने प्रवृत्तिले निकास निस्कन नसक्ने बताए ।
वरिष्ठ नेता माधवकुमार नेपालले स्वेच्छाचारी शासक बन्नकै लागि ओलीले पार्टी एकता गरेको बताए । ‘आफूलाई खास र शक्तिशाली प्रधानमन्त्री देखाउन ओलीजीले पार्टी एकता गर्नुभएको रहेछ, उहाँ अहिले कार्यकर्ताको मतको बलमा निरंकुश बन्दै जानुभएको छ,’ नेपालले भेलामा भने, ‘त्यतिखेर गलत नियतले पार्टी एकता गरेका रैछन् भनेर अहिले बुझ्दैछु ।’ सहभागी भए तापनि खनालले भने सम्बोधन गरेनन् । कान्तिपुरमा समाचार छ ।
ओली पक्षले मदन भण्डारी फाउन्डेसनका नाममा तल्लो तहसम्म कार्यक्रम गरेर पार्टी फुटका लागि तयार हुन भनेपछि आफूहरूले पनि केन्द्रीय सदस्यहरूसँग छलफल गरेको नेताहरूले बताएका छन् ।
यसअघि बुधबार गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग दाहाल–नेपाल पक्षीय सचिवालय सदस्यहरूले छलफल गरेका थिए । उक्त छलफलमा दाहालले पार्टी कुनै पनि हालतमा नफुट्ने भएकाले ढुक्क रहन आग्रह गरेका थिए ।