चाँदीमा सुनको जलप लगाएर १६ केजी सुनको पैसा झ्वाम
काठमाडौं । कुख्यात जाली नोट तस्कर इल्ताफ हुसेन अन्सारी र भारतीय चलचित्र निर्माता निलेश सखियाले नक्कली सुन दिएर १६ केजी सुन बराबरको पैसा ठगी गरेको खुलासा भएको छ ।
बाराको निजगढबाट बिहीबार पक्राउ परेका इल्ताफले निलेशको योजनामा सुनको पैसा लुटिएको खुलाएका हुन् ।
इल्ताफले आफू मध्यस्थकर्ता मात्रै भएको र मुख्य योजनाकार निलेश नै भएको बताएका छन् ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले तस्करका योजनाकारमध्येका एक जना इल्ताफलाई पक्राउ गरिएको र उनको बयानपछि केही नयाँ तथ्य खुल्न सक्ने बताए ।
अनुसन्धान भइरहेकोले सबै कुरा बोल्न नमिल्ने उनको भनाइ छ । स्रोतका अनुसार नक्कली सुन दिएर सक्कलीबापतको रकम ठग्ने योजनामा निलेश र इल्ताफकै हात थियो ।
भारत गुजरातका सञ्जय पटेललाई काठमाडौंमा १६ केजी सुन दिन भनेर इल्ताफ र निलेशले बोलाएका थिए । उक्त सुनको पहिलो बजार मूल्य १२ करोड रुपैयाँभन्दा बढी पर्छ ।
उच्च स्रोतका अनुसार सुन लिनका लागि सञ्जयले निलेशलाई भारतमै रकम भुक्तानी गरेका थिए । सोहीक्रममा सक्कली सुन लिन सञ्जय आसर अन्तिम साता निलेशसँगैं काठमाडौं आए ।
उनी कमलपोखरी अपार्टमेनटमा डेढ साता बसेर भारत फर्कने योजनासहित आएका थिए । पहिल्यै पैसा लिएका निलेशले चाँदीमा सुनको लेपन लगाएर सञ्जयलाई ठग्ने योजना बुनेको कान्तिपुरले लेखेको छ ।
यसका लागि उनले जाली नोट तस्करीमा जेल सजाय पाएर छुटेका इल्ताफलाई काठमाडौंमै व्यापार गर्ने गुजरातका कौशल पटेल र उनका दाजु देवानसिंह पटेललाई जिम्मा दिए । देवान र कौशलको लाजिम्पाटमा सुनचाँदी सरसफाइ गर्ने पसल छ ।
निलेशको देवानसिंह र कौशलसँग पुरानै चिनजान हो । भारतबाटै देवानसिंहलाई निलेशले चाँदी खरिद गर्न र लेपन लगाउन १६ लाख रुपैयाँ दिइसकेका थिए ।
त्यसैअनुसार राजधानीकै एक पसलबाट १६ केजी चाँदी खरिद गरिएको थियो ।