मुखर्जीका छोराको आरोप: भारतीय मिडिया फेक न्युजका कारखाना हुन् - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

मुखर्जीका छोराको आरोप: भारतीय मिडिया फेक न्युजका कारखाना हुन्



काठमाडौँ। भारतीय मिडियाको समाचारले आजिद बनेपछि प्रणव मुखर्जीका छोराले आक्रोश ब्यक्त गरेका छन् । बिहीबार बिहानैदेखि भारतीय मिडिया र सामाजिक सञ्जालमा मुखर्जीको निधन भएको समाचार भाइरल बनेको छ । तर भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी यतिबेला कोमामा छन् ।

एक वरिष्ठ पत्रकारबाट त्यसरी समाचार बाहिरिएपछि मुखर्जी परिवारले कडा आपत्ति जनाएको छ ।उनका छोरा अभिजित मुखर्जी र छोरी शर्मिष्टा मुखर्जीले सामाजिक सञ्जालमार्फत मृत्युको खबरको खण्डन गरेका छन् । अभिजित मुखर्जीले भारतीय सञ्चारमाध्यमहरु फेक न्युजको फ्याक्ट्री बनिसकेको बताएका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मेरो बुवा प्रणव मुखर्जी जीवित हुनुहुन्छ। रक्तसञ्‍चारमा समस्या देखिएपछि उहाँको अवस्था स्थिर छ।केही सम्मानित पत्रकारबाटै सामाजिक सञ्‍जालमा अड्कलबाजी लगाउने र अफवाह फैलाउने कामबाट भारतका मिडिया फेक न्युजको फ्याक्ट्री बनिसकेको देखिन्छ।’

प्रणव मुखर्जीकी छोरी शर्मिष्ठा मुखर्जीले उनको स्वास्थ्यको बारेमा भइरहेको अफवाहप्रति आक्रोश व्यक्त गरेकी छिन्। शर्मिष्ठाले ट्वीट गर्दै, ‘मेरो बुवाको अवस्थाको बारेमा अफवाहहरू गलत छन्। सबैलाई अनुरोध, विशेष गरी मिडियाका साथीहरुलाई , कृपया मलाइ फोन नगर्नुहोस्, मेरो फोन इन्गेज भयो भने मैले मेरो बुबाको अस्पतालबाट आउने स्वास्थ्य अवस्थाबारेमा थाहापाउन सक्दिन।’

प्रणव मुखर्जीलाई सोमबार कोरोना संक्रमण भएको थियो । उनी निरन्तर चिकित्सकहरुको निगरानीमा छन्। उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिँदै चिकित्सकहरुले अझै पनि मुखर्जीको स्वास्थ्यमा खासै सुधार नभएको बताएका छन्।

बिहीबार सेनाको अनुसन्धान र रेफरल अस्पतालले मुखर्जीको स्थितिको बारेमा जानकारी दिदैं पूर्व राष्ट्रपतिको अवस्थामा कुनै परिवर्तन नआएको बताएका छन्। अस्पतालले भन्यो, ‘आज बिहानदेखि पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्थामा कुनै परिवर्तन आएको छैन। बेहोस अवस्थामा छन् र हाल भेन्टिलेटरमा राखिएको छ।’