अबको पाँच दिनभित्र पार्टीको समस्या रहन्न: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

अबको पाँच दिनभित्र पार्टीको समस्या रहन्न: प्रधानमन्त्री ओली



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद निकै चर्किएको र संवादहिनताको अवस्था देखिएको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने अबको पाँच दिनमा वार-पार हुने बताएका छन् ।

लामो समयदेखि आफ्नै पार्टीका बहुमत सदस्यहरूले प्रधानमन्त्री ओलीले मनोमानी ढंगले पार्टी र सरकार संचालन गरेको आरोप लगाएर राजिनामा मागिरहेका बेला प्रधानमन्त्रीले भने अबको पाँच दिनमै पार्टीका विवादका बिषय टुंगो लाग्ने बताएका हुन्।

बुधबार साँझ एक टेलिभिजनसंगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । चर्चित पत्रकार भुषण दाहालको नयाँ कार्यक्रमको पहिलो एपिसोडमा लिइएको अन्तर्वार्ताको दौरानमा उनले पार्टीको समस्या समाधान भैसकेको संकेत गरेका छन् ।

भुषण दाहालले सोधेको प्रश्नको जवाफ दिँदै उनले अबको पाँच दिनभित्रै सबै समस्या समाधान हुने बताएका छन् । अबको १० दिनमा पार्टीको विवाद साम्य पार्न सक्नुहोला भन्ने दाहालको प्रश्नमा प्रधानमन्त्री ओलीले तपाईंले हेर्दै राख्नुहोस १० दिन होइन अब पाँच दिनमै सबै टुंगो लाग्छ भन्दै उत्तर दिएका थिए ।

तर, यता भने पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूह र प्रधानमन्त्री ओली समूहबीच बोलचाल समेत बन्द भएको चर्चा चलिरहेको छ । कोरोना संक्रमणको जोखिम देखाएर संवाद हुन नसकेको भनीएपनि दुवै पक्षबीच समझदारी बन्न नसकेको स्रोतले बताउने गरेको छ ।

यता बहुमत सदस्यले एकाएक राजिनामा मागेपछि पार्टीको जारी स्थायी कमिटिको बैठक डेढ महिनादेखि पेन्डुलम बनेको छ ।