पत्रकार बानियाँको मृत्यु रहस्यमय: कलंकीमा फोन अफ, बल्खुमा जुत्ता, हेटौंडामा शव - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

पत्रकार बानियाँको मृत्यु रहस्यमय: कलंकीमा फोन अफ, बल्खुमा जुत्ता, हेटौंडामा शव



काठमाडौं– सम्पर्कविहीन ‘कान्तिपुर’ दैनिकका वरिष्ठ पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ । बल्खुबाट तिनकुने हिँडेका उनको शव मकवानपुरमा भेटिएपछि उनको मृत्यु रहस्यमय बनेको छ ।

भीमफेदी गाउँपालिकाको सिस्नेरीस्थित माण्डु जलविद्युत् आयोजनाको फिल्टरको जालीमा अड्किएका अवस्थामा शव फेला परेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिएका छन् ।

पानी परिरहेको र जालीमा अड्किएकाले प्रहरीलाई शव निकाल्न समेत निकै मुश्किल भएको थियो । मङ्गलबार बिहानै शव फेला परेको थियो । साँझ मात्रै शव निकालेर राति परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । आज मात्रै शवको सनाखत भएकोे बताइएको छ ।

पत्रकार बानियाँ पहिले लामो समय ‘कान्तिपुर‘ दैनिकमा काम गरी बीचमा ‘नागरिक’ दैनिकमा केही समय काम गरेका थिए । त्यसपछि पुनः फर्किएर कान्तिपुरमा कार्यरत थिए । एसएसपी थापाका अनुसार यही साउन २६ गते बल्खुस्थित खोलामा चिप्लिएर लडेपछि उनी बेपत्ता भएका थिए । पानीको बहाब बढी भएकाले उद्धार प्रयास सफल हुन सकेन । तत्कालीन समयमा उनको पहिचान हुन सकेको थिएन ।

प्रहरीमा प्राप्त विवरणअनुसार सोमबार अपराह्न ३ बजे पत्रकार बानियाँ बल्खुमा हिँडिरहेका अवस्थामा देखिएका थिए । सोमबार ३ः२३ बजेको सिसी क्यामेरा फुटेजमा उनी हल्लिएर हिँड्दै गरेको देखिएको प्रहरीले जनाएको छ । कोभिड–१९ को जोखिमका समयमा मास्क नलगाई हिँडेको देखेपछि त्यसबेला प्रहरीले कहाँ जान लागेको भनेर सोधखोजसमेत गरेको थियो ।

पत्रकार बानियाँले तीनकुनेस्थित घर जान लागेको भनी जवाफ फर्काएका थिए । प्रहरीले राम्ररी सुरक्षित भएर घर जानसमेत सुझाएका थिए तर उनी माथि लाग्नुपर्नेमा खोलातिर लागेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

“स्थानीयवासीले खोला छ, तल नजानुहोस् भन्दाभन्दै उनी थाहा छ भन्दै खोलातर्फ जानु भएछ”, महाशाखा प्रमुख थापाले भने, जाँदाजाँदै चिप्लिएर लड्नुभएछ ।” उक्त घटना सोमबार अपराह्न १५ः४५ बजेतिरको हो । त्यसपछि तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले समेत खोजी गर्दा फेला पार्न सकेनन् । घटनास्थलमा जुत्ता भने फेला परेको थियो ।

खोला किनारमा भेटिएको जुत्ता भने छोरीले पहिचान गरेको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । छोरी सुस्मिताले सिसी टिभी फुटेज हेरेपछि बानियाँलाई नदीले बगाएको पहिचान खुलेको थियो । पत्रकार बानियाँ घरबाट भने साउन २५ गते नै निस्किएको महाशाखाले जनाएको छ । त्यस दिन उनी काठमाडौंको ढुङ्गेअड्डास्थित तीनथानामा रहेको आफन्तकहाँ बसेको खुलेको छ । त्यहाँबाट भोलिपल्ट अपराह्न साढे १२ बजे उनी हिँडेका थिए । त्यसदिन अपराह्न १ बजे कलङ्कीबाट मोबाइल अफ भएको पाइएको छ ।

मङ्गलबार परिवारबाट महाशाखामा खोजतलासका लागि निवेदन परेपछि मात्रै महाशाखाले उनलाई नै वाग्मतीले बगाएको भन्ने यकिन गरेको थियो । खोला किनारमा पुगेपछि जुत्ता अड्किएको र मान्छे खोलामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । तत्कालै स्थानीय तथा प्रहरीले उद्धार प्रयास गरे पनि सफल हुन सकेन ।

मकवानपुर– भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित माण्डु हाइड्रोपावरको बाँधमा अल्झिएको अवस्थामा फेला परेको शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अपराध अनुसन्धान महाशाखा काठमाडौंले बानियाँको परिवारलाई तस्वीर देखाएपछि परिवारले शव पुष्टि गरेका थिए । सोही आधारमा आफूहरुले शवको सनाखत गरेको प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।

दुई दिनदेखि घर नफर्किएपछि परिवारले महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखामा उजुरी दिएको थियो । विसं २०२७ जेठ १५ गते तनहुँ जिल्लाको भानु नगरपालिकामा जन्मिएका बानियाँ काठमाडौं महानगरपालिका वडा नम्बर ३२ सुविधानगरमा बस्दै आएका थिए । बानियाँ नेपाल पत्रकार महासङ्घका पूर्वसचिवसमेत थिए ।