प्रणब मुखर्जीकाे अवस्था निकै 'जटिल', छाेरीले लेखिन् भावुक सन्देश - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

प्रणब मुखर्जीकाे अवस्था निकै ‘जटिल’, छाेरीले लेखिन् भावुक सन्देश



एजेन्सी– भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि छोरी शर्मिष्ठा मुखर्जीले भावुक सन्देश लेखेकी छन् ।

शर्मिष्ठाले ट्विटरमा भगवानले आफ्नो लागि सही निर्णय गर्ने र अब जे हुन्छ त्यसलाई स्वीकार गर्न आफूलाई हिम्मत दिने लेखेकी छन् । शर्मिष्ठाले बुवा प्रणव मुखर्जीको स्वास्थ्य लाभको कामना गर्दै एक वर्ष पुरानो प्रसङ्गको सम्झना पनि गराएकी छन् ।

उनले ट्वीट गर्दै लेखेकी छन्, ‘गएको वर्ष यही समयमा प्रणव मुखर्जीलाई सर्वोच्च नागरिक सम्मान र भारत रत्न पुरस्कारबाट सम्मान गरिएको थियो, यो वर्ष उहाँ गम्भीर बिरामी हुनुहुन्छ ।’ गएको वर्षको अगस्ट ८ तारिखमा बुवा प्रणव मुखर्जी भारत रत्न पुरस्कारबाट सम्मानित हुँदा आफू निकै खुसी भएको भन्दै शर्मिष्ठाले यसपालिको अगस्ट १० तारिखमा उनी गम्भीर रुपमा बिरामी भएको उल्लेख गरेकी छन् ।

उनले भगवानले आफ्नो बुवाको लागि राम्रो गर्ने र आफूलाई दुःख/सुख स्वीकार गर्न सक्ने क्षमता दिने बताएइ छन् ।

पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । ८४ वर्षीय मुखर्जी मस्तिष्कमा जमेको रगत हटाउन शल्यक्रिया गर्नको लागि अस्पताल गएका थिए । शल्यक्रियाअघि परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण देखिएको हो ।

उनी सन् २०१२ देखि सन् २०१७ सम्म भारतका राष्ट्रपति थिए । उनी राष्ट्रपति हुनुअघि अर्थमन्त्री, रक्षामन्त्री र परराष्ट्र मन्त्रीजस्ता पदमा रहेर काम गरेका थिए ।