३ हजार थिए पूर्वमन्त्री बस्नेतका बाबुको मलामी: दाहसंस्कारपछि कोरोना पुष्टि - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

३ हजार थिए पूर्वमन्त्री बस्नेतका बाबुको मलामी: दाहसंस्कारपछि कोरोना पुष्टि



काठमाडौं। नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतका स्वर्गीय पीता खड्गबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएपछि सिन्धुपाल्चोकको बाह्रविसेमा सन्त्रास फैलिएको छ।

बस्नेतको मृत्यु भएको ६ दिनपछि आज कोरोना पुष्टि भएको हो। नेपाली कांग्रेसका नेता समेत रहेका बस्नेतको ८४ वर्षको उमेरमा साउन २२ गते निधन भएको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बस्नेतको निधन भएको थियो।

मृत्युपछि स्वाव संकलन गरी गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा गौतमले मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचारको क्रममा निधन भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए।

उपचारको क्रममा तीन दिनसम्म आइसियूमा राखेर उपचार गरिएको बस्नेतको मृगौलाले काम गर्न छाडेको भन्दै अस्पतालले शब परिवारलाई वुझाएको बस्नेत निकट स्रोतले बताएको छ। तर, अस्पतालले कोरोना परीक्षणको नतिजा नआउँदासम्म शव चलाउन नमिल्ने बताएको भए पनि नेता बस्नेतले दवाव दिएर बुवाको शव लगेको अस्पताल स्रोतले बताएको छ।

बस्नेतको अन्त्येष्टिमा करीब तीन हजार मलामी सहभागी भएको अनुमान गरिएको छ। २२ गते राती निधन भएको थियो। साउन २३ मा शवलाई बाह्रविसे लगेर नगर परिक्रमा गराई सुनकोशी नदी किनारमा अत्येष्टि गरिएको थियो।

मृतकको स्वाव परीक्षणको नतिजा पोजेटिभ आएपछि मलामी गएका सबैलाई आइसेलनशनमा बस्न अनुरोध गरिएको बाह्रविसे नगरपालिकाका उपप्रमुख शुशिला पाख्रिनले बताइन्।

नगरपालिकाको ९, ४, ३ र २ नम्बर वडाको लगभग सबै क्षेत्रलाई सिल गरेर आइसोलेशनमा राखिएको उनले बताइन्।