पूर्व सञ्चारमन्त्रीका बुवाको मृत्युपश्चात कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतका बुवामा निधनपश्चात कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
साउन २२ गते काठमाडौंको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सपलान्ट सेन्टरमा उपचारका क्रममा निधन भएका नेता बस्नेतका बुवामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालले कोरोना परीक्षणका लागि बस्नेतका ८४ वर्षीय बुवा खड्गबहादुर बस्नेतको स्वाब संकलन गरेको थियो । स्वाबको पीसीआर परीक्षणका क्रममा मंगलबार नतिजा पोजेटिभ आएको बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले पुष्टि गरेको छ ।
नगरपालिकाले नेता बस्नेतका बुवामा निधनपश्चात कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि दाहसंस्कारमा सहभागी भएका सबैलाई घरमै क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।
नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले प्रेस विज्ञप्ति जारी गरेर नगरपालिकाको पूर्वको वडा नम्बर ४, वडा नम्बर २ कर्थली बुदेपा, उत्तरपट्टी वडा नम्बर ३ को खाक्दल खोला, पश्चिम वडा नम्बर ९ को राम्चे बजार क्षेत्र र दक्षिणतर्फ शारदा मावि क्षेत्र सुनकोशी बजारको सिमाना सम्मको चार किल्लाभित्र मानिसहरु आवत– जावत नगर्न आग्रह गरेकी छन् ।
विज्ञप्तिमा उक्त क्षेत्रमा सवारी साधन चलाउन पूर्णरुपमा निषेध गरी व्यापार, व्यवसायलगायतका अन्य क्रियाकलाप बन्द गरी सिल गर्ने निर्णय गरिएको पनि उल्लेख छ ।
विज्ञप्तिमा नेता बस्नेतका बुवाको नाम उल्लेख भने गरिएको छैन । तर, उपप्रमुख पाख्रिनले बाह्रखरीसँगको टेलिफोन कुराकानीमा बस्नेतका बुवामा निधनपश्चात कोरोना देखिएको पुष्टि गरेकी छन् ।