स्वास्थ्यमन्त्रीले सरकारको आलोचना गर्नेको मति सप्रियोस् भन्दै दिए शुभकामना - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

स्वास्थ्यमन्त्रीले सरकारको आलोचना गर्नेको मति सप्रियोस् भन्दै दिए शुभकामना



काठमाडाैँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै शुभकामना दिएका छन्।

उनले पार्टी भित्र र बाहिरबाट मति विग्रिएकाहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेका भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस भन्ने शुभकामना दिएका हुन् ।

मंगलबार थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति विग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारी विरुद्ध लड्न मति सप्रियोस भन्दै शुभकामना दिएका हुन्।

उनले भने, ‘आजको यो कृष्णअष्टमीको दिन मति विग्रिएकाहरुका लागि पनि यो महामारीका विरुद्ध लडनका निमित्त मति सुध्रियोग भन्ने शुभकामना दिन चाहन्छु । चाहे ति मेरा घरभित्र बसेका हुन् चाहे ति मेरा छिमेकमा बसेका व्यक्तिहरु हुन् । सरकारको आलोचना गरेर लडाईको अभियानमा लागेको योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पुर्‍याउन सक्दैनन् ।’

उनले महामारीबाट बाँचियो भने सत्ताको लडाई फेरि पनि खेल्न सकिने भन्दै सकारलाई सघाउन नेताहरुलाई आग्रह गरे।

सरकारलाई जनताले पाँच वर्षको म्याण्डेट दिएकाले पाँच वर्ष पछि नै सत्ताको खेलमा लाग्न समेत आग्रह गरे। उनले भने, ‘बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाई फेरि पनि खेल्न सकिन्छ । किनभने सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन् । पाँच वर्ष जनताले म्याण्डेट दिएकै छन् । म्याण्डेटपछि त्यो खेलमा लाग्दाखेरीपनि केही विग्रिदैन । स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिँड्ने मित्रहरुलाई पनि म आग्रह गर्न चाहन्छु बेला अनुसार हाम्रा बचन र व्यवहार गरिएन भने जनताले त्यहि ढंगले हामीलाई निगरानी गरिराखेका हुन्छन् । जनताको नजरमा हामी परीक्षामा नै छौं । सबैले जनताबाटै उत्तिर्ण हुनुपर्छ भन्ने कुरालाई मध्यनजर राखेर नै हामीले काम गर्न सकियो भने हामी यो लडाईलाई सहजतापूर्वक समाधान गर्न सक्छौं ।’

उनले कोरोना रोकथामका लागि सरकारको विरोध विभिन्न तरिकाबाट हुने गरेको बताए। कुनैबेला पीपीइ भएन भने सामूहिक राजीनामा दिन्छौं भन्नेहरु अहिले चुप लागेको बताए।

त्यस्तै गीतबाट समेत सरकारको आलोचना गरिएको तर अहिले त्यसको जवाफ सरकारले दिइसकेको बताए। अहिले सम्म पीपीई र पीसीआरको गीत आएको र अब ती चल्न छाडेपछि औषधि र भेन्टिलेटरका गीत आउने बताए।

जस्तोसुकै गीत आएपनि त्यसको जवाफ सरकारले शिद्धान्तबाट नभई व्यवहारबाट दिने प्रष्ट पारे। उनले भने, ‘गीतहरु बदली बदली आउने छन् । एक जमाना थियो पीपीई भएन भने हामी राजीनामा दिन्छौँ भन्ने थियो । अब त्यसको अभाव छैन भनेपछि अहिले त्यसको गीत बजेन, त्यसपछि पीसीआर परीक्षणको गीत आयो । अब औषधिको आउने छ र भेन्टीलेटरको गीतहरु आउनेछन् । ती गीतका भाकाहरुलाई पनि कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा शिद्धान्तमा होइन व्यवहारमा जवाफदेहिताका साथ जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी अहिले नेपाल सरकारले लिएको छ ।’

मन्त्री ढकालले नेपालमा अहिलेपनि कोरोना संक्रमणको स्थिति नियन्त्रण भित्रै रहेको बताएका छन् । संक्रमणको अवस्था समुदाय स्तरमा देखिए पनि नियन्त्रण्को स्थितिमा नै रहेकोले आत्तिनु नपर्ने बताए।

अन्य मूलुकहरुको तुलनामा पनि नेपालमा संक्रमण नियन्त्रणका गरिएका कार्यहरु प्रभावकारी भएको बताए।

महामारीको अप्ठेरोको यो अवस्थामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्न सबै पक्षलाई आग्रह समेत गरे।