बाबुराम र उपेन्द्रले गरे सरकारको चर्को आलोचना
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न सरकार असफल भएको बताएका छन् ।
जसपा कार्यकारिणी समितिको बैठकमा वर्तमान राजनीतिक अवस्थाको बारेमा बिहिबार बोल्दै अध्यक्ष यादवले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका साथै बाढीपहिरो पीडितका लागि सरकारले केही पनि नगरेको बताए ।
पछिल्लो समय सरकारले गर्नुपर्ने पुर्व तयारी नगरेकाले जनताले दुख पाईरहेको उनले बताए । मुलुकमा महामारी फेलिरहेको अवस्थामा कुर्सी जोगाउँनका लागि भईरहेको खेलमा सरकार व्यस्त रहेको आरोप उनले लगाए ।
पुर्व उपप्रधानमन्त्री समेत रहेका जसपा अध्यक्ष यादवले बैकल्पिक शक्तिको रुपमा पार्टीलाई अगाडी बढाउँने बताए । पार्टी समायोजन, जिम्मेवारी बाँडफाँड गर्दै पार्टीलाई अगाडी बढाउँन आवश्यक रहेको बताए ।
जसपा वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको निति, सिद्धान्त, विचारको बारेमा धारणा राख्दै संविधानमा रहेका त्रुटिलाई सच्याउँदै अगाडी बढनुको बिकल्प नभएको बताए ।
वर्तमान सरकारले जनताको समस्या समाधान गर्न असफल रहेको बताउँदै उनले बिकल्पको खोजी हुनुपर्ने बताए । जनता पिडामा रहेका बेला सत्ताको खेल भईरहेको बताउँदै सरकारले जनताको समस्या समाधानमा केन्द्रीत हुनुपर्ने उनले बताए ।
जसपा कार्यकारिणी समितिको बैठक बुधबारदेखी शुरु भएको छ । बैठकमा जिम्मेवारी बाँडफाँड, समायोजन लगायतका प्रतिबेदनका बारेमा छलफलका साथै प्रशिक्षण पनि दिने एजेण्डा रहेको छ । बैठक ६ दिनसम्म चल्ने जसपा कार्यकारिणी सदस्य रामसहाय यादवले बताए ।