नेकपाभित्र विवाद नै विवाद: मुख्यमन्त्रीलाई आफ्नै पार्टीबाट तनाव
हेटौंडा- केन्द्रीयस्तरमा नेकपा पार्टीभित्र विवाद चर्किरहँदा बागमती प्रदेशमा पनि आन्तरिक विवाद चुलिएको देखिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री तथा सोही दलका सांसद्बीच अभिव्यक्ति विवाद चर्किएको हो । सरकारले बजेटअनुसार विकास निर्माण गर्न नसकेपछि सांसदहरुको टाउकोमा दोष थुपारेको सांसदहरुले मुख्यमन्त्रीलाई आरोप लगाएका छन् ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्ताव र हस्ताक्षर अभियान चलाएको भनेर दिएको अभिव्यक्तिमा उनकै दलका सांसदहरुले आपत्ति जनाएका छन् । प्रदेशका मुख्यमन्त्री पौडेलले आइतबार जिल्ला समन्वय समितिको पाँचौं जिल्लासभामा दिएको अभिव्यक्तिप्रति मकवानपुरका प्रदेशसभाका चार सदस्यले ‘खेद’ व्यक्त गरेका छन् । चार सांसदले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा मकवानपुरका ४ सांसदले आफ्नो कमजोरी ढाकछोप गर्न मुख्यमन्त्री पौडेलको पछिल्लो अभिव्यक्ति आएको दाबी गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्यहरु कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी र ओम ग्लानले प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्च गर्न नसक्नुमा सरकारको कमजोरी र बजेट पास नहुने अबस्थाबीच बजेट पास भएको कुरालाई ढाकछोप गर्न मुख्यमन्त्री पौडेलले आफूविरुद्ध अविश्वास प्रस्ताव र हस्ताक्षर अभियान चलाइएको भनेर अभिव्यक्ति दिएको बताएका छन् ।
केन्द्रीयस्तरमा नेकपा स्थायी कमिटी बैठक चलिरहँदा र शीर्ष नेतृत्व छलफलमा जुटिरहँदा कुनै प्रसंगबिना मुख्यमन्त्रीले यस्तो अभिव्यक्ति दिन नसुहाउने विज्ञप्तिमा उल्लेख छ । मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले नेतृत्व, नेता, कार्यकर्ता र आमजनमानसमा भ्रम फैलाउने काम गर्न रत्तिभर नसुहाएको विज्ञप्तिमा भनिएको छ ।
बजेट वितरणका सन्दर्भमा संसदीय दलका बैठकको प्रदेश सांसदहरुको सामान्य असन्तुष्टि पनि सामना गर्न नसकेपछि अधिकांश प्रदेशसभा सदस्यबाट मुख्यमन्त्रीको विरोध भएको थियो । यसै विषयलाई लिएर पालोको पैंचो गरेको हो कि भन्ने मनासय विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ–प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्च हुन नसक्नुमा सरकारकै कमजोरी रहन्छ । यो सामान्य विषय नै रह्यो । यद्यपि, बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा बनाउने सन्दर्भमा पार्टीले गरेको निर्णय हामीले आत्मसात् गरेका हौं । तर, मुख्यमन्त्रीले यसलाई व्यक्तिगत पुँजीका रुपमा लिएपछि प्रदेशसभा सदस्यमा रहेको असन्तुष्टि बजेटका सन्दर्भमा प्रकट भएको हुनसक्छ । बजेट पास नहुने अबस्था भएपछि पार्टी प्रदेश कमिटी इञ्चार्जलगायतको पहलकदमीले बजेट पास हुने वातावरण बनेको उनीहरूले मुख्यमन्त्रीलाई अवगत गराएका छन् ।
यी सबै घटनाक्रमका बाबजुद प्रदेशसभामा आफूलाई कमजोर महसुस गरी कमजोरी ढाकछोप गर्न मुख्यमन्त्रीले त्यस्तो अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले अविश्वासको प्रस्ताव र हस्ताक्षर अभियान पुष्टि गर्ने अधिकार मुख्यमन्त्रीमा रहेको जानकारी दिँदै सर्वसाधारण, पार्टी नेतृत्व, नेता, कार्यकर्तामा भ्रममा नपर्न आग्रह गरेका छन् ।
जिल्लासभामा मकवानपुरका प्रदेशसभा सदस्यहरुप्रति लक्षित गर्दै मुख्यमन्त्री पौडेलले मकवानपुरबाट नै आफूलाई हटाउने खेल भइरहेको आरोप लगाएका थिए । उनले मुख्यमन्त्रीबाट आफूलाई हटाउन मकवानपुरकै सांसदहरुबाट अविश्वास प्रस्ताव ल्याउन लागेको आरोप लगाएका थिए । आफूलाई हटाउन अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न यहीं (मकवानपुर) बाट सुरु गरिएको उनको दाबी थियो ।
![](https://himalpost.com/wp-content/uploads/2020/08/cpn-673x768.jpg)