काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने सरकारको तयारी - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने सरकारको तयारी



काठमाडौं- कोरोना संंक्रमण बढ्दै गएपछि त्यसको रोकथामका लागि काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लगाउने तयारी सरकारले गरेको छ ।

हालसम्म विभिन्न स्थानीय प्रशासनले १८ जिल्लामा निषेधाज्ञा लगाएका छन् । नौ जिल्लामा जिल्लाभरि नै निषेधाज्ञा लागू गरिएको छ भने बाँकी नौ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

बारा, पर्सा, नुवाकोट, सप्तरी, बाँके, सुनसरी, सर्लाही, स्याङ्जा र बर्दियामा जिल्लाभरि नै निषेधाज्ञा लगाइएको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार धनुषा, महोत्तरी, सिराहा, जुम्ला, बझाङ, मोरङ, दार्चुला, झापा र कञ्चनपुरमा आंशिक रूपमा निषेधाज्ञा लगाइएको छ । कतिपय जिल्लामा स्थानीय प्रशासनभन्दा स्थानीय तहले लकडाउन गरेका छन् ।

काठमाडौं उपत्यकामा पनि निषेधाज्ञामार्फत आवातजावतमा रोक लगाउने तयारी भएको छ । दिनहुँ संक्रमितको संख्या बढिराखेको तर भीड कम नभएकाले केहि दिन विचार गर्ने नभए निषेधाज्ञा लगाउने तयारी भएको स्रोतले जनाएको छ ।

काठमाडौं उपत्यकामा संक्रमितको संख्या करिब १ हजार पुग्नै लागेको छ । काठमाडौं जिल्लामा मात्रै ५ सय नाघेको छ । संक्रमित बढिरहने तर सर्वसाधारणले सरकारको निर्देशन नमाने गरे निषेधाज्ञामा जान बाध्य हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । उनका अनुसार काठमाडौं उपत्यकाका प्रशासन कार्यालयहरु अझै विश्लेषणकै चरणमा छन् ।

लकडाउन खुलाएपछि सरकारले संक्रमण फैलिएका क्षेत्रमा निषेधाज्ञा तथा कफ्र्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । सोहीअनुसार धेरै संक्रमित भएका जिल्लाहरूले निषेधाज्ञा लगाएका छन् ।