दक्षिणपन्थी मोदीको बाटोमा यसरी जाँदैछन् वामपन्थी ओली
प्रधानमन्त्रीले केपी ओलीले चितवन माडीको अयोध्यापुरीमा राम मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।
राम मन्दिरका लागि बजेटको कुनै कमी हुन नदिने भन्दै प्रधानमन्त्रीले चेपाङका घरको विषयमा भने अध्ययनपछि मात्र भन्न सकिने बताएका खबर आजको नयाँ पत्रिका दैनिकमा चितवनबाट विवेक पोखरेलले लेखेका छन्।
चितवन राष्ट्रिय निकुञ्ज र सेनाको टोलीले माडी–९ कुसुमखोलामा चेपाङका घरमा हात्ती लगाएर भत्काएको विषयमा माडी नगरपालिकाले संघीय सरकारसँग आपत्ति जनाइरहेको थियो । माडी नगरपालिका प्रवक्तासमेत रहेका वडा नम्बर ९ का अध्यक्ष शिवहरि सुवेदीसँग शुक्रबार टेलिफोनमा संवाद गर्दै प्रधानमन्त्रीले तुरुन्तै काठमाडौं आउन भनेका थिए ।
प्रधानमन्त्रीको आमन्त्रणपछि मेयर ठाकुरप्रसाद ढकालको नेतृत्वमा एउटा टोली शनिबार बालुवाटार पुगेको थियो ।
दुई घन्टाको छलफलमा प्रधानमन्त्री ओलीले रामको जन्मस्थान माडीको अयोध्यापुरी नै रहेको दाबी गर्दै मन्दिर बनाउन निर्देशन दिएका थिए । उनले माडी नगरपालिकाको नाम फेरेर अयोध्यापुरी राख्ने तयारी गर्न पनि सुझाब दिएका थिए ।
‘रामजन्म माडीको अयोध्यापुरीमा नै भएको हो भन्ने विषयमा प्रधानमन्त्रीलाई धेरै नै जानकारी रहेछ । त्यसैले अयोध्यापुरीलाई राम जन्मभूमिको रूपमा विकास गर्न निर्देशन दिनुभएको छ, बजेटको कुनै कमी हुँदैन भनेर विश्वास पनि दिनुभएको छ,’ नगरपालिकाका प्रवक्ता सुवेदीले भने, ‘सकेसम्म सहमति जुटाएर माडी नगरपालिकाको नाम नै परिवर्तन गर्न भन्नुभएको छ, अयोध्यापुरी नगरपालिका नाम भए माडीको विकासमा अझ सहज हुनेछ भन्नुभएको छ।’
प्रधानमन्त्रीले आउँदो रामनवमीमा नै उद्घाटन गर्न मिल्ने गरी केही भौतिक काम गर्न पनि निर्देशन दिएका छन् । ‘राम जन्मभूमिको क्षेत्र छुट्याएर रामका मूर्तिहरू राख्ने हो कि अथवा अरू के गर्ने हो, त्यो तपाईंहरू नै गर्नुस्, तर सकेसम्म आगामी रामनवमीसम्म देखिने गरी केही काम गर्नुस्, केन्द्रबाट आवश्यक सबै सहयोग हुन्छ भन्नुभएको छ,’ सुवेदीले भने ।
माडीका जनप्रतिनिधिले भने राष्ट्रिय निकुञ्जले दुई साताअघि घर भत्काइदिएपछि बिचल्लीमा परेका चेपाङको समस्या पनि उठाएका थिए ।
चेपाङको वासको विषयमा भने वन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र रक्षा मन्त्रालयसहित बसेर समाधान गरिने आवश्वासन पाएको मेयर ढकालले बताए ।
‘वन मन्त्रालयले अध्ययन गरिसकेको छ, मन्त्रिपरिषद् कार्यालयको टोलीले अध्ययन गरिरहेको छ । यो विषयमा प्रतिवेदन आएपछि छलफल गरेर समाधान गरौँला भन्ने आश्वासन पाएका छौँ,’ उनले भने ।
टोलीले निकुञ्जले वरिपरिका बासिन्दालाई सताउने गरेको विषयमा पनि पनि गुनासो राखेको थियो । ३ साउनमा हात्तीसहित गएको निकुञ्जको टोलीले माडी–९ को कुसुमखोलाको दुई घरमा आगो लगाउनुका साथै आठ घर भत्काइदिएको थियो ।
माडीको टोलीलाई प्रधानमन्त्री ओलीले दिएको निर्देशनले सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ ।
‘कोभिड महामारीले जनता त्रसित छन्, अस्पतालमा बेडको अभाव हुन थालेको छ, आवश्यक मात्रामा जनताको पिसिआर टेस्ट भएको छैन, क्वारेन्टाइनमा जीवनजलसमेत नपाएर झाडापखाला लागेका युवाको मृत्यु भएको छ, पाखामा पालमुनि वास बसिरहेका बाढी–पहिरोपीडितले सरकारबाट राहत पाएका छैनन्,’ सञ्जालको आवाज छ, ‘यही वेला गरिब चेपाङको घर हात्ती लगाएर भत्काउने र आगो लगाएर जलाउने काम भएको छ, प्रधानमन्त्री भने शीघ्रातिशीघ्र राम मन्दिर निर्माणको अभियानमा लागेका छन् ।’
यो मानवमूल्यलाई अवमूल्यन गर्ने ओलीको राजनीति दुनियाँका लागि नौलो भने होइन । भारतमा नरेन्द्र मोदी नेतृत्वको दक्षिणपन्थी अतिवादी भाजपाले शिक्षा र आधारभूत स्वास्थ्य सेवा नपाएका गरिब जनता, कुपोषणले ग्रसित बालबालिका र बेरोजगारीले सताइएका युवाको ध्यान भंग गर्न मन्दिर–मस्जिदको राजनीति गरिरहेको छ।