एकै व्यक्तिको दुई थरी कोरोना रिपोर्ट
काठमाडौं- प्रदेश १ का दुई प्रयोगशालाबाट एकै व्यक्तिको स्वाब परीक्षण रिपोर्ट फरक फरक आएको छ।
विराटनगर १ का ६३ वर्षीय रमेश अग्रवाललाई बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि परिवारले कोशी अस्पताल पुर्याए। अग्रवाल मृगौला रोगी पनि थिए। ज्वरो र स्वासप्रस्वासमा केही समस्या आएपछि स्वास्थ्यकर्मीले कोरोना आशंकामा उनको फिवर क्लिनिकबाट स्वाब संकलन गरेर केही औषधीको साथमा घर पठाए।
स्वाब दिएका अग्रवालको पीसीआर रिपोर्ट नआउँदै शुक्रबार स्वास्थ्यमा थप समस्या देखिएपछि परिवारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याए। धरानमा इमरजेन्सीमा भर्ना गरी प्रतिष्ठानले कोरोना जाँच गर्न पुनः स्वाब संकलन गर्यो। त्यस समयसम्म उनको विराटनगरबाट रिपोर्ट आएको थिएन। उपचारकै क्रममा उनको शनिबार धरानमा मृत्यु भयो।
रमेशको मृत्यूपछि विराटनगर र धरान दुबै तर्फबाट पीसीआर रिपोर्ट त आयो तर, फरक फरक। विराटनगरमा लिएको स्वाबको रिपोर्ट पोजिटिभ आउँदा धरानमा लिएको स्वाबको रिपोर्ट भने नेगेटिभ आएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
धरानमा प्रतिष्ठानले संकलन गरेको स्वाबको नेगेटिभ रिपोर्ट आएपछि प्रतिष्ठानले रमेशको शव आफन्तको जिम्मा लगाइदियो र उनको अन्त्येष्टि पनि शनिबारनै आफन्तले गरिसकेका छन्।
फरक फरक रिपोर्ट आएपछि केही समय अन्त्येष्टि र शव बुझ्ने क्रममा विवाद भए पनि विराटनगर महानगरले थोरै मलामी उपस्थित गराउने सर्तमा आफन्तलाई अन्त्येष्टि गर्न दिएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए।
‘एउटै व्यक्तिको २४ घण्टा नबित्दै परीक्षण गर्दा फरक रिपोर्ट आएपछि शव नेपाली सेनाले अन्त्येष्टि गर्नेकी भन्ने पनि थियो। अन्त्यमा थोरै मलामी सहभागी हुने भनेपछि र दोस्रो रिपोर्ट नेगेटिभ आएकाले शव आफन्तलाई दिएको हो’ कार्कीले भने।