मदिरा सेवन र बिक्री गर्न प्रतिबन्ध
काठमाडौं – बैतडीको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ ।
पुर्चौंडीको वडा नं ३ ढङ्ंगाबिसौनामा मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको हो । मदिरा नियन्त्रण समितिको बैठकले गाउँमा मदिराका कारण विभिन्न खालका समस्या सिर्जना भएकाले मदिरा बेचबिखन र सेवनमा रोक लगाएको बताएको छ ।
कसैले मदिरा बिक्री गरेको पाइएमा १० हजार रुपैयाँ जरिवाना गरिने निर्णय भएको स्थानीय अर्जुन लुहारले जानकारी दिए । यस्तै मदिरा सेवन गर्ने र ओसारपोसार गर्नेलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ ।
यसका साथै जिल्लाको डिलाशैनी गाउँपालिका–७ को मनेकुडा टोलमा पनि मदिरा र जुवातासमा रोक लगाइएको छ । बेतालेश्वर युवा क्लबमा आबद्ध युवाले गाउँमा जुवातास र रक्सी प्रतिबन्ध गरेको स्थानीय सागर ऐरले बताए ।
बैठकले वडाभित्र मदिरा बिक्री वितरण गरे पाँच हजार ५ सय ५५ रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । यस्तै मदिरा सेवन गरी होहल्ला गरेमा दुई हजार ६ सय, मदिरा ओसारपोसार गरेमा दुई हजार जरिवाना लिने निर्णय भएको छ ।
यस्तै कसैले जुवातास खेलाएमा एक हजार ५ सय र जुवातास खेलेमा १ हजार रुपैयाँ जरिवाना गर्ने निर्णयसमेत भएको जनाइएको छ । रासस