विदेशीको इसारामा पार्टी फुटाउन र सत्तामा जान चार नेताको रिहर्सल: सुर्य थापा - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

विदेशीको इसारामा पार्टी फुटाउन र सत्तामा जान चार नेताको रिहर्सल: सुर्य थापा



काठमाडौं- सत्तारुढ नेकपाभित्र तनावको अवस्था बनेको छ । अन्तरसंघर्ष उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली इतरका चार नेताहरूले पत्रकार भेटघाट गरेर ओलिविरुद्ध अन्तिम लडाईको उद्घोष गरेपछि बालुवाटारमा हंगामा मच्चिएको छ ।

लामो समयदेखि स्थायी कमिटि बैठक बस्न सकेको छैन । आन्तरिक शक्ति संघर्षका लागि धेरै समीकरणहरु बन्ने भत्कने गरिरहेका छन् । यसैबीच नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहका चार शीर्ष नेताले बुधबार पत्रकार सम्मेलन नै गरे । दाहाल, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी उक्त पत्रकार भेटघाटमा नेकपाभित्रको विवादबारे स्पष्ट पार्ने प्रयास गरिएको थियो ।

उक्त पत्रकार भेटघाटमा नेताहरुले नेता कार्यकर्तालाई जस्तोसुकै अवस्थाका लागि पनि तयार रहन आग्रह गरे । उक्त कार्यक्रमबाट बालुवाटार अर्थात् नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहमा खैलाबैला मच्चिएको छ ।

नेताहरूले पछिल्लो घटनाक्रमलाई चर्चाको बिषय बनाएका छन् । यसको संकेत प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले विहीबार बिहान सार्वजनिक गरेको सन्देशबाट स्पष्ट हुन्छ । उनले आफ्नै पार्टीका नेताहरुको गतिविधिलाई ‘नेकपा विभाजन र समाप्त पार्ने कसरत’ र ‘देशीविदेशी षडयन्त्र र चलखेल’ भनेका छन् ।

नेकपामा देखिएको किचलोलाई थापाले सम्झिएको धोबीघाट गठबन्धन माओवादीभित्रको अन्तरसंघर्षको प्रसंगक रूपमा अर्थ्याएका छन् । त्यतिबेला अहिलेका ओलीको जस्तै पेलानमा थिए माओवादीका नेताहरु । बुधबार माधव नेपालले ‘यो ओलीपीडितहरुको गठबन्धन हो’ भनेजस्तै त्यो पनि प्रचण्डपीडितहरुको गठबन्धन थियो । विचारले काम नगरेपनि विधि प्रयोग गरेर संख्याबाट प्रचण्डलाई सबक सिकाउन त्यतिबेला डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठ प्रकाशले गठबन्धन गरेका थिए ।

दाहाल-नेपाल समूहको गठबन्धनलाई बालुवाटारले ‘नयाँ धोबीघाट गठबन्धन’को संज्ञा दिएको छ । ‘याे पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्दति र एकताकाे लडाई रे ? पार्टी विभाजनकाे खुल्लमखुला हाँक, हाेहल्ला र रिहर्सल,’ थापाले सामाजिक सञ्जालमै सिधै पार्टी फुटाउन खोजेको आरोप लगाएका छन् ।

हेर्नुहोस् थापाको स्टाटस-

  • १० वर्षअघि साउन यही बेला
  • धाेबीघाट गठबन्धनकाे परिणति
  • आकांक्षा र बाँडफाँट
  • संसदीय दलकाे नेता – डा. बाबुराम भट्टराई
  • जनसेना ईन्चार्ज – रामबहादुर थापा “बादल”
  • संगठन विभाग प्रमुख – माेहन वैद्य “किरण”
  • उपप्रधानमन्त्री तथा गृहमन्त्री – नारायणकाजी श्रेष्ठ
  • पार्टी अध्यक्ष तथा संसदीय दलकाे नेताबाट पुष्पकमल दाहाल “प्रचण्ड”लाई अपदस्थ गर्न केन्द्रीय कमिटीमा हस्ताक्षर संकलन, बाबुराम, वैद्य, बादल, नारायणकाजी र बिप्लवकाे माेर्चाबन्दी ।
  • माओवादी धारकाे १ दर्जन समुहमा विभाजन र विघटन ।

अहिले १० बर्षपछि साउनकाे याे बेला
खुमलटार गठबन्धनकाे रिहर्सल

  • आकांक्षा र बाँडफाँट
  • राष्ट्रपति – झलनाथ खनाल
  • प्रधानमन्त्री – पुष्पकमल दाहाल “प्रचण्ड”
  • अध्यक्ष – माधवकुमार नेपाल
  • उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री – नारायणकाजी श्रेष्ठ
  • प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरूद्द दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको माेर्चाबन्दी ।
  • याे पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्धति र एकताकाे लडाई रे ? पार्टी विभाजनकाे खुल्लमखुला हाँक, हाेहल्ला र रिहर्सल ।
  • नेकपा विभाजन र समाप्त पार्ने कसरत ।
  • देशीविदेशी षडयन्त्र र चलखेल ।
  • ग्याङ अफ फाेरकाे पत्रकार भेघाटपछिकाे परिदृश्य ???