विनाशकारी विस्फोटका कारण लेबनानमा ३ लाख मानिस घरविहीन - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

विनाशकारी विस्फोटका कारण लेबनानमा ३ लाख मानिस घरविहीन



काठमाडौं- लेबनानको राजधानी बेरुतमा विनाशकारी विस्फोटनपछि तीन लाख मानिस विस्थापित भएका छन्।

शक्तिशाली विस्फोटनका कारण घरबारविहीन भएपछि उनीहरू विस्थापित हुनु परेको अधिकारीहरूले बुधबार जनाएका छन्।

स्थानीय गभर्नर ममार्वान अब्बौडले विस्थापित हुनेहरूको विवरण संकलनकै क्रममा रहेको र अझै धेरै विस्थापित भएको हुनसक्ने बताए। लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार अबेर राति विनाशकारी र शक्तिशाली विस्फोट भएको थियो।

विस्फोटनमा परी सय जनाभन्दा बढीको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी मानिस घाइते भएका छन्। दुई हजार ७५० टन रासायनिक पदार्थ ‘एमोनियम नाइट्रेट’ भण्डारण गरेको एक गोदाम घरमा भएको विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको स्थानीय बासिन्दाले बताएका छन्।

गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो।

लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विस्फोटलाई देशको ठूलो विपत्ति भनेका छन्। उनले एक टेलिभिजनमा सम्बोधन गर्दै घटनामा संलग्नलाई कडा कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

घटनाप्रति विश्वभरबाट सहानुभूति र समवेदना प्रकट भइरहेका छन्। कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायले लेबनानलाई सहयोगको घोषणा पनि गरेका छन्। रासस