ओलीले नेकपा फुटाउने पुरै तयारी गरेको प्रचण्डको खुलासा
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा प्रधानमन्त्री ओलीले एकपछि अर्को गर्दै बितण्डा गरेको र अब उनले बहुमतको जस्तोसुकै निर्णय मान्नुपर्ने बताएका छन् ।
केहि सिमित पत्रकारहरुसंग छलफल गर्दै उनले पार्टी फुट्नसक्ने समेत संकेत गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टी फुटाउने पुरै तयारी गरिसकेको र पार्टीले गर्ने बहुमतको निर्णय कुरेको उनले बताएका छन् ।
प्रचण्डले आफ्नो समुहका नेता तथा निकटस्थ सञ्चारकर्मीसंग प्रधानमन्त्री ओलीले पार्टीले कारबाही गरोस भनेरै बितण्डा गरिरहेको संकेत समेत गरेका थिए । उनले प्रधानमन्त्री ओलीले पार्टीको बहुमतले गरेका निर्णय नमान्ने, बैठकबाट भाग्ने र अनेक चलखेल पार्टी फुटाउनकै लागि गरेको पनि आरोप लगाए ।
प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको चर्को आलोचना गरे । उनले आफ्नो अपमान गर्ने गरी निरन्तर गतिविधिहरु भइरहेको टिप्पणी गरे । पूर्व एमालेहरुलाई एक बनाउने र पूर्व माओवादीलाई तान्ने शैलीमा आक्रमण गर्नुपर्छ भन्ने हिसाबले जान खोजिएको आरोप लगाए । ओलीले पार्टीको निर्णय समेत नमान्ने भनेर बढ्न खोजेको भन्दै असन्तुष्टि जनाए । प्रचण्डले अध्यक्षका रुपमा आफ्नो कुर्सी हटाएर अपमानित गरेको समेत स्मरण गराए ।
ओलीमाथि पटक पटक फुटको पक्षमा गतिविधि गर्दै आएको प्रचण्डको आरोप थियो । निर्वाचन आयोगमा नेकपा एमाले दर्ता, बहुदलीय जनवादको नारा देखि सडकमा राष्ट्रवादको नाममा नारावाजी लगाउने सम्म गराइएको आरोप लगाए ।
भेलामा प्रचण्डका अलावा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । उनीहरुले पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए । अवस्था यसरी नै बढे पार्टी गम्भीर दुर्घटनामा पुग्ने र दुरगामी नकारात्मक असर पर्ने भन्दै ठोस कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।