स्थायी कमिटीलाई हुल्लडवाज र केन्द्रीय कमिटीलाई सडकछाप भन्ने ओलीले देश र पार्टीलाई कहाँ लैजान्छन ? - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

स्थायी कमिटीलाई हुल्लडवाज र केन्द्रीय कमिटीलाई सडकछाप भन्ने ओलीले देश र पार्टीलाई कहाँ लैजान्छन ?



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी फाउन्डेसनबाट देशव्यापी गुट चलाएको बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित एक अन्तक्र्रियामा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले पार्टीभित्रको अर्को समूहका विरुद्धमा फाउन्डेसन परिचालन गरिएको बताए।

‘अध्यक्ष ओलीले मदन भण्डारी फाउन्डेसनबाट रास्ट्रव्यापी गुट चलाए, जिल्ला मात्र होइन पालिका वार्डसम्म कमिटी बनाएर अर्का अध्यक्ष प्रचण्ड लगायतका पक्षलाइ खण्डन गर्ने आलोचना गर्ने काम गरे, अनि प्रचण्डले पदको लोभले लडाइँ चर्काएको आरोप लगाए’, नेता खनालले भने।

उनले अध्यक्ष ओलीलाई रुपान्तरण गर्न अनेक प्रयास गरिए पनि असफल नभएपछि अहिले स्थायी कमिटीमा छलफल भएको बताए। उनले प्रधानमन्त्री ओलीले एमालेमा हुँदा पनि गुट नै चलाएको र अहिले पनि गुटबाट बाहिर निस्कन नसकेका कारण विस्फोटको अवस्था आएको बताए। ‘पूर्वएमाले हुँदा पनि उहाँको गुट थियो, एकतापछि पनि त्यही गुटलाइ प्रबल बनाए अनि अहिले विस्फोटको अवस्थामा पुग्यो’, खनालले भने।

लगानी बोर्डमा सुशील भट्टको नियुक्तिले उनको चरित्र उदाङो पारेको खनालको भनाई थियो। उनले पार्टीभित्र सल्लाह नगरी एकलौटी रुपमा भट्टलाई नियुक्त गरेर ओली आफ्नो उद्देश्य पूरा गराउन लागेको बताए।

‘प्लानिङ कमिसनको मान्छे हो ऊ त, एकदमै योग्य मान्छे भनेर हिजो पनि भन्नुभयो। उहाँले कुनै नियुक्तिमा पनि पार्टीमा छलफल गर्नु भएको छैन’, मंगलबार प्रधानमन्त्री ओलीसँगको छलफल स्मरण गर्दै खनालले भने, ‘उहाँ स्थायी कमिटीलाई हुल्लडवाज भन्नुहुन्छ, केन्द्रीय कमिटीलाई सडकछाप भन्नुहुन्छ, अनि उहाँले देश र पार्टीलाई कहाँ लैजानु हुन्छ?’