कार्यकर्तालाई आन्दोलनमा उत्रन कमल थापाको निर्देशन - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कार्यकर्तालाई आन्दोलनमा उत्रन कमल थापाको निर्देशन



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

पार्टी सम्वद्ध जनवर्गिय संगठनको संयुक्त भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै थापाले कोरोना महामारी नियन्त्रण गर्न सरकारको भूमिका निष्प्रभावी रहेको भन्दै कोरोना महामारी, भ्रष्टाचार र धर्म परिवर्तन जस्ता बिषयलाई लिएर सडकमा जान कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन्।

मुलुकमा अहिले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक भएकोले त्यो परिपूर्ति गर्न राप्रपा एक भएको चर्चा गर्दै थापाले तल्लो तहसम्म संगठन निर्माणमा जुट्नुपर्ने आवश्यकता औंल्याए। पार्टी एकतासँगै जनवर्गिय संगठनको समायोजन गर्ने कार्यलाई प्राथमिकतामा राखी अघि बढ्न आग्रह गर्दै थापाले साँठनिक सुदृढिकरणका गतिविधिमा केन्द्रीत हुनुपर्नेमा जोड दिए।

सिद्धान्तनिष्ट कार्यकर्ताको बलमा मात्र पार्टीले सफलता प्राप्त गर्ने भन्दै थापाले प्रशिक्षण अभियानलाई सघन रुपमा सञ्चालन गर्न निर्देशन दिए।

नेकपा र नेपाली कांग्रेसको विकल्पको रुपमा राप्रपालाई जनताले हेरिरहेको भन्दै थापाले जनताको माझबाट जनअनुमोदित गराएर एजेण्डालाई स्थापित गरि छाड्ने दृढता व्यक्त गरे।