संघीय सांसद प्रदीप यादवलाई कोरोना संक्रमण - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

संघीय सांसद प्रदीप यादवलाई कोरोना संक्रमण



काठमाडौं- पर्साबाट निर्वाचित संघीय सांसद प्रदीप यादवलाई कोरोना संक्रमण देखिएको छ। यादव जनता समाजवादी पार्टीका सांसद हुन्।

नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित पर्सा जिल्लाका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिए।

सांसद यादवका अंगरक्षक र चालकलाई पनि कोरोना संक्रमण देखिएको छ। संक्रमित हुनेमा एक जना चिकित्सक पनि छन्।

सांसद यादवले आफूलाई कोरोना संक्रमण भएको आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएका छन्। शुक्रबार राति उनले लेखेका छन्, ‘पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन। आफूलाई आइसोलेट गरेर आराममा छु।कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाँडै फर्किने छु।’

यसअघि बिहीबार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई कोरोना संक्रमण देखिएको थियो। कोरोना संक्रमणको कारण पर्सामा अहिलेसम्म १० जनाले ज्यान गुमाइसकेका छन्।

संक्रमण फैलिन नदिन विगत चार दिनदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।