प्रचण्डले भने: खाली घमण्डमात्र गर्ने, यो के तरिका हो ?' - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

प्रचण्डले भने: खाली घमण्डमात्र गर्ने, यो के तरिका हो ?’



काठमाडौं- लामो समयदेखि चलिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले पार्टीका शिर्ष नेताहरूमा झनै दूरी बढाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हुने भनिएको संवाद हुन सकेको छैन ।

सहमतिकै लागि भन्दै महासचिव विष्णु पौडेलले खुमलटार र बालुवाटार गरे पनि संवादको वातावरण बन्न सकेको छैन । खुमलटारको सन्देश बोकेर बालुवाटार पुगेका महासचिव पौडेलले आफू निकटसँग सहमतिको सम्भावना कम हुँदै गएको बताउन थालेका छन् ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले बिहीबार बिहान आफ्नो निवास खुमलटारमा महासचिव पौडेलसँग झण्डै दुई घन्टा छलफल गरे । प्रचण्डले संवादका लागि ओलीलाई सकरात्मक हिसाबले छलफल गर्नेगरी समय मिलाउनका लागि महासचिवमार्फत सन्देश पठाएका थिए ।

स्रोतका अनुसार प्रचण्डले महासचिव पौडेलसँग भने, ‘तपाईँले सम्झाउनुस् साथीहरुको कुरा पनि सुन्नुपर्छ । अरुको कुरा सुन्दैमा सानो भइँदैन । सकरात्मक निकास निकाल्नेगरी समय मिलाउन भन्नुस् । पार्टी एकता कायम राख्ने अन्तिम प्रयास गरौँ । तपाईँले पनि यहीँ तरिकाको भूमिका खेल्नु पर्यो ।’

प्रचण्डले पार्टीभित्रको मुख्य विवाद ओलीले नै सुरु गरेकाले निकासका लागि ओलीबाटै विकल्प आउनु पर्नेमा जोड दिएका छन् । उनले भने, ‘मैले पार्टी एकताकै लागि सबै कुरा छाडेकै हो नि । मैले के गर्न बाँकी छ ? प्रधानमन्त्री बनाएकै थियो । त्यो पनि पाँच पाँच वर्ष । उहाँले अर्को एकजना साथीलाई जिम्मेवारी दिएर पाँच वर्ष सरकार चलाउँदा के हुन्थ्यो ? खाली घमण्डमात्र गर्ने र आफू निकट लगाएर विभिन्न प्रलोभनमा पार्न खोज्ने ? यो के तरिका हो ?’

खुमलटारमा झण्डै दुई घन्टा छलफल गरेका महासचिव पौडेल प्रचण्डको सन्देश बोकेर बालुवाटार पुगे । उनले प्रचण्डको सन्देश सुनाएपछि ओलीले पहिले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक रोक्नुपर्ने नयाँ सर्त राखे । जारी स्थायी कमिटी बैठक रोकेर सचिवालमार्फत निकास खोज्ने र महाधिवेशनमा केन्द्रित हुने ओलीले सुनाए ।

ओलीले उनी निकट नेतासँग भने, ‘पहिले स्थायी कमिटी बैठक र माग गरिएको केन्द्रीय कमिटी बैठक रोक्नुपर्छ । यसरी वार्ता हुँदैन । वार्ता र संवाद कसरी हुन्छ ? बैठक बोलाउने दबाब दिने र वार्ता गर्ने ? अब उहाँहरुको अवस्था हेरेर अगाडि बढ्नुपर्छ ।’

दुबैतर्फको कुरा सुनेका महासचिव पौडेल अहिले दोस्रो तहका नेताहरुसँग संवादहीनता तोड्ने भन्दै वार्तामा जुटेका छन् । एकदुई दिनमा अध्यक्षद्वय ओली-प्रचण्डबीच वार्ता हुनसक्ने स्रोतले जनाएको छ ।