काठमाडौंमा ठुलो दुर्घटनाको संकेत देखियो: स्वास्थ्य मन्त्रालय
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको पछिल्लो अवस्थाबारे चिन्ता ब्यक्त गरेको छ । पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमित बढ्दै गएका कारण ठुलो दुर्घटनाको संकेत देखिएको मन्त्रालयले बताएको छ ।
सामाजिक दूरी लगायतका उपाय जनताले नअपनाएको र कोरोनाविरुद्ध सरकारले लागू गरेको नियम पालना नगरी लापरबाही बढ्दै गएको उल्लेख गर्दै मन्त्रालयले यसले काठमाडौंको जनस्वास्थ्यमा ‘ठूलो दुर्घटना’ निम्तिने चेतावनी दिएको हो।
मन्त्रालयको नियमित ‘कोभिड–१९ प्रेस ब्रिफिङ’ अन्तर्गत शुक्रबार प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘काठमाण्डुमा फाटफुट केसहरू भेटिइरहेका छन्। काठमाडौंमा संक्रमितको संख्या बढिरहेको छ। यसमा पथपरहेजमा बस्नुपर्ने कुरा हामीले हरेक दिन निवेदन गरिरहेका छौं, तर पालना भइरहेको छैन, यसले हाम्रो जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउने कुरा पनि म जानकारी गराउन चाहन्छु।’
यस्तै देशका कतिपय नाकामा पनि अहिले लापरबाही बढिरहेको उनले जानकारी दिए। जनस्वास्थ्यको मापदण्ड पालना नगरिएकाले संक्रमण बढ्दै गएको उनले बताए।
‘हालसालै भारतबाट ओखलढुंगा कामदाहरू लगियो, २१ कामदारमध्ये १८ जनामा कोरोना पोजिटिभ देखियो,’ उनले भने, ‘अहिले उनीहरूलाई विराटनगर लगिएको छ।’
यस्ता घटना आइरहेकाले सबैलाई सचेत रहन मन्त्रालयले आग्रह गरेको छ।