बाँकेमा समुदायमै फैलियो कोरोना: अवस्था चिन्ताजनक
बाँके- जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबारदेखि तीन दिनसम्मका लागि जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ ।
समुदायस्तरमा कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढेसँगै प्रशासनले निषेधाज्ञा जारी गर्ने भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।
नेपालगञ्जमा समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा कर्मचारीसहित २७ जनामा सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गर्ने तयारी गरिएको हो ।
गत आइतबार कन्टयाक्ट ट्रेसिङ गरी आन्तरिक राजश्व कार्यालय नेपालगञ्जबाट ६८, त्रिभुवनचोकको मिठाइ पसल आसपासबाट ११५ र यातायात व्यवस्था कार्यालय क्षेत्रबाट सङ्कलन गरिएको २८ स्वाब परीक्षणका क्रममा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका थप ११ कर्मचारीसहित नेपालगञ्जका २७ जनामा आज सङ्क्रमण देखिएको छ ।
जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द
महोत्तरीको जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले आज एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि आजबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जनाए ।
उनले अति आवश्यक काम बाहेक आजदेखि जलेश्वर नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितका लागि बन्द रहने सूचनामा उल्लेख गरेका छन् ।
साथै विश्वभरि महामारीका रूपमा फैलिएको कोरोनाको उच्च जोखिममा रहेका जलेश्वर नगरवासीलाई सतर्कता अपनाइ नगरपालिकालाई सहयोग गर्न अपिल समेत गरेका छन् ।