स्थायी कमिटी सदस्य ओलीका खेताला होइनन: डा. बेदुराम भुसाल
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. बेदुराम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको हठका कारण स्थायी कमिटी बैठक स्थगित हुँदै आइरहेको बताएका छन् ।
बिहीबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै नेता भुषालले असार १० गतेबाट सुरु भएको बैठक एक व्यक्तिका कारण स्थगित नहुने बताएका छन् ।
‘यो बैठक असार १० गते दुई जना अध्यक्षले सम्बोधन गरेर सुरु भएको बैठक हो । यो बैठक निरन्तर विना अवरोध चलिरहनुपर्छ । साउन ६ गते नै १३ गतेका लागि बोलाइएको बैठक हो’, उनले भने, ‘यसमा कुनै अध्यक्षले हस्तक्षेप गर्ने अधिकार छैन् । कि त बैठक नै बोलाएर अध्यक्षले आफ्नो कुरा राख्न सक्नुपर्यो । बैठकले तय गरेको मिति कुनै अध्यक्षले सार्न सक्दैन । मान्छे बालुवाटार पुगेपछि बैठक स्थगित गरियो भन्देको छ । स्थायी कमिटी सदस्य तपाईका खेताला हुन ? आज तिम्रो काम छैन् जाउ भन्ने त हैन नि । त्यही आएर बैठक यो यो कारणले बस्न नसकिने भयो आजलाई स्थगित गरौं भन्दे त भैगो नि साँच्चै नै मनमा अन्य कुरा केही छैन् भने त । आफ्नो पार्टीको बैठकमा बसेर आफ्ना कुरा राख्न सकिँदैन ?’
नेता भुषालले प्रधानमन्त्रीका सल्लाहकारहरुले बैठक स्थगित भयो भनेर हल्ला फैलाएको बताएका छन् । ‘बालुवाटारमा प्रधानमन्त्रीका प्रेस सल्लाहकारका मान्छेहरुले प्रवाह गरेको सूचना हो । बैठक हो कि हैन कि ? त्यहाँ कुनै विवाद छैन्’, उनले भने, ‘संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङहरुको प्रयोजित हो । त्यो बैठक होइन भनेर केही गर्न सकिन्छ कि कतै पानी खन्याउन सकिन्छ कि भन्ने प्रयास हो । त्यो सकिँदैन ।’
नेता भुषालले १३ गते बसेको बैठक वैधानिक रहेको दाबी गरेका छन् । उनले ६ गतेको बैठकले निर्णय गरेको मितिमा बसेको बैठक वैधानिक रहेको दाबी गरेका हुन् ।
त्यस्तै उनले स्थायी कमिटी बैठक स्थगित नभएको दाबी गरेका छन् । उनले दुई जना अध्यक्षलाई बैठक सुचारु राख्नका लागि समय दिइएको बताएका छन् । उनले प्रधानमन्त्री अोलीको राजीनामाको विषय नसेलाएको बताएका छन् ।
‘यो बैठकको एजेण्डा नै होइन प्रधानमन्त्रीको राजीनामा । सात वटा एजेण्डा हुन नि । प्रधानमन्त्रीले भारतले मलाई हटाउन खोज्यो भन्नुभयो त्यसपछि चाँही उहाँको राजीनामा माग गरिएको हो’, उनले भने, ‘राजीनामा दिए भनेर प्रचार गरियो । तर उहाँले स्थायी कमिटी बैठ टारेर हिँडिरहनु भएको छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्र मर्दै गएको छ । अध्यक्षहरुबाट विधान उल्लंघन गरिएको छ । स्थायी कमिटी र केन्द्रीय कमिटीको सदस्य हुन योग्यता नपुगेका मानिसलाई बनाएर विधि मिचिएको छ ।’
उनले उपाध्यक्ष वामदेव गौतमले ल्याएको ६ बुँदे प्रस्तावले पार्टीभित्रको समस्या समाधान नगर्ने बताएका छन् ।
‘उहाँले ल्याएका ६ बुँदे प्रस्तावले पार्टीको समस्या समाधान हुँदैन । त्यो उहाँले मन बहलाउन ल्याएको प्रस्ताव हो’, उनले भने ।
उनले विधानअनुसार पार्टी सञ्चालन नभए नेकपा फुट्न सक्ने बताएका छन् । उनले भने, ‘पार्टी विधानअनुसार चलेन भने फुट्न पनि सक्छ नि ।’