खीरका फाइदै फाइदा: यस्ता छन् औषधिय गुण - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

खीरका फाइदै फाइदा: यस्ता छन् औषधिय गुण



काठमाडौं- साउन १५ मा बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर साउन १५ मनाइँदै छ।

असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलनको विशेष सांस्कृतिक महत्त्व रहेको खबर आजको गोरखापत्र दैनिकमा सरोज आचार्य र यलु जोशीले लेखेका छन्।

बाग्मती अञ्चल आयुर्वेद औषधालयमा कार्यरत चिकित्सक डा.अञ्जु कार्की भन्छन्, ‘खीर धेरैको प्रिय भोजन हो। यसको सांस्कृतिक र औषधिजन्य महत्व छ।’

खीरले मानिसमा रोगसँग लड्ने क्षमता बढाउने हुँदा कोरोना भाइरस (कोभिड-१९) को विरुद्ध शरीरलाई तन्दुरुस्त राख्न खीर उपयोगी हुन्छ। गोठ धुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुुँदा सांस्कृतिक रूपमा पनि खीरलाई पवित्र भोजन मानिन्छ।

डा.कार्कीका अनुसार आयुर्वेद शास्त्रमा खीरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुणका छन्। खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ। ती सबै वस्तुमा औषधीय गुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।

‘खीर सहजै पचाउन गाह्रो पर्ने खाद्य परिकार हो, यसलाई पाचनयोग्य र मीठो बनाउनका लागि मसलाको मात्रा मिलाउनुपर्छ,’ डा.कार्की भन्छन्।

ल्वाङले पाचन प्रणाली तथा मरिचले श्वासप्रश्वास ठीक गर्छ । दालचिनीले फोक्सो सुनिन नदिने तथा पेटमा वायु फुलाउँदैन भने नरिवल वीर्यवद्र्धक, बलकारक, अम्लपित्तनाशक र हृदयलाई हितकारी मानिन्छ।

खीरमा प्रयोग हुने वस्तुहरूमा रोगसँग लड्ने औषधीय गुण हुन्छ। अन्य मसला खीरमा नमिसाएर नरिवल मात्र मिसाउँदा पनि निकै लाभ दिने डा.कार्कीको भनाइ छ।

वैद्यराज सुवर्ण वैद्यका अनुसार खीरले कफ, पित्त, वायुलाई सन्तुलनमा राख्छ भने शरीर, मनमस्तिस्क सफा गरी शान्त राख्छ। साउने झरीमा खीर भोजनको आफ्नै महìव रहेको वैद्यराज बताउँछन्।

फिजिसियन जेनर लामा भन्छन्, ‘वर्षाको समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ र त्यसका लागि खीर उत्तम भोजन हो।’

उनका अनुसार चामल, दूध, नरिवल, छोकडा, चिनी हालेर खीर बनाउने चलन छ । लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ।

कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् डा.सत्यमोहन जोशी बताउँछन्। उहाँका अनुसार नेपालमा मात्रै नभएर भारतमा पनि साउनमा खीर खाएमा शुभ हुने मान्यता छ।