कैलालीमा सयौँ घर डुबानमा

धनगढी – लगातारको वर्षाले धनगढी लगायत कैलालीका धेरै ठाउँका बस्ती डुबानमा परेका छन्। धनगढीका हसनपुर, शिवनगर, उत्तरबेहडी, क्याम्पसरोड लगायतका ठाउ जलमग्न भएका छन्।
नदीहरु गाउँ पस्दा सयौँ घर डुबानमा परेका प्रहरीले जनाएको छ। कान्द्रा, काँडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुरमा काँडा नदी गाउँ परेपछि २५ घर डुबानमा परेका छन्। उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै ८ घर डुबानमा परेका छन्। काँडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० भन्दा बढि घरमा डुबान भएको बताइएको छ । कान्द्रा नदीमा आएको बाढीले पनि भजनीकै १६ घर डुबानमा परेका छन्।
घरमा पानी पसेपछि घरमा रहेका अन्नपात र लत्ताकपडा भिजेर नष्ट भएका स्थानीयबासीले बताएका छन्।
भजनी र जोशीपुर डुबानमा परेपछि स्थानीय पालिकाले बाढीको जोखिम बढेमा नागरिकलाई राहत तथा उद्धारका लागि कहाँ राख्ने भन्ने तयारी थालेका छन्।
भजनीले जोखिमबाट बच्न पूर्वतयारीस्वरुप उद्धार टोली तयारी अवस्थामा राखेको नगरपालिकाले जनाएको छ। सो क्षेत्रमा बर्सेनि बाढी र कटान हुन्छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकोले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ।
सुदूरपश्चिम प्रदेशहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
हाल कैलालीको टिकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा भारी वर्षा भइरहेको र थप वर्षा हुने देखिएकोले कान्द्रा, मोहना, घुराहा, खुटिया, स्याउली, चौधर लगायतका नदीमा आकश्मिक बाढी आउने खतरा भएको समेत विभागले जानकारी दिएको छ।

