बालुवाटारबाटै नेकपाको माइन्युट गायब - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

बालुवाटारबाटै नेकपाको माइन्युट गायब



काठमाडौं- जहाज हाँक्ने दुई पाइलटबिच खटपट भएपछी नेकपा नामको जहाज दुर्घट्ना नजिक पुगेर बालबाल बचेको छ । यद्यपि जहाज अगाडी बढाउने बिषयमा अझै दुई पाईलटबिच सहमती कायम भएको चाहिँ छैन ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी स्थायी कमीटी बैठक पार्टी अध्यक्ष समेत रहेका ओलीले बहिस्कार गरे । अझ रोचक कुरा त के छ भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बहुमत सदस्य सहभागी बैठकलाई ‘बैठक’ भन्‍ने की ‘भेला’ भन्‍ने विवाद समेत भयो । विवादका बीच माइन्युट गर्न खोज्दा माइन्युट समेत भेटिएन ।

पार्टीको माइन्युट बालुवाटारमै हराएपछि प्रचण्ड,माधव नेपाल, झलनाथ खनाल लगायत नेताहरु कागजको सानो टुक्रामा निर्णय लेखेर बाहिरिए । उनीहरु बैठक सकेर निस्कँदा थाहा पाए की पार्टीको माइन्युट बाकेर महासचिव बिष्णु पौडेल ओलीकै कार्यकक्षमा बसिरहेका थिए ।

बैठकमा सहभागी नभएका महासचिव पौडेलले ओलीकै निर्देशनमा माइन्युट लुकाएका थिए तर, माइन्युट ल्याउ भनेर माग्‍ने हिम्मत पनि प्रचण्ड–माधव गुटले गरेन । माइन्युट माग्‍न जाँदा ओलीको डाइलग खानुपर्छ भनेर कसैले माग्‍ने हिम्मत नगरेको बैठकमा सहभागी एक नेताले बताए ।

विहान ११ बजे बस्‍ने भनिएको बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गरिसकेका थिए । उनले आफ्नो गुटका सदस्यलाई बैठकमा सहभागी नहुन खबर गरेपछी मात्रै प्रचण्डलाई बैठक स्थगित भएको जानकारी दिएका थिए ।

प्रचण्ड–माधव गुटको मात्रै सहभागिता भनिएको बैठकमा सोही गुटमा रहेका भनिएका नेता बामदेव गौतमले समेत बैठक सुरु हुनु अगाडी उक्त गुट परित्याग गरेर अर्को चमत्कार गरिदिए । ओलीको राजिनामा माग्‍न पाइँदैन भन्दै गौतमले प्रधानमन्त्री ओली नै हुनुपर्ने उर्दी जारी गरे ।

बैठकमा बामदेव नआउने भएपछी झस्केको प्रचण्ड–माधव गुटमा फेरी अर्को तरंग आयो जव उनकै गुटमा भएको भनिएका गृहमन्त्री रामबहादुर थापा सहित टोपबहादुर रायमाझी र मणि थापा पनि प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा गएनन् । उता बैठकमै सहभागी भएर पनि माधव गुटका घनश्याम भुषाल र योगेश भट्टराईले पनि प्रचण्डको अध्यक्षताको बैठकलाई भेला मात्रै भनौं भन्‍ने प्रस्ताव गरेको साझा पोस्टले लेखेको छ ।

दिनभरको फिल्मी कहानीमा अर्को ‘ट्‍वीस्ट’ कहाँनेर आयो भने बैठक बहिस्कार गरेका अध्यक्ष ओली र ओली नै प्रधानमन्त्री भैराख्‍नु पर्छ भन्‍ने बामदेव गौतमबीच साँझ गौतम निवासमा रात्रीभोज सम्पन्‍न भयो । पत्‍नी राधिका शाक्यलाई समेत लिएर गौतम निवास भैंसेपाटी पुगेका ओलीले त्यहाँ दुई घण्टा विताएका थिए । ओली गौतम निवास पुगेपछि प्रचण्ड–नेपाल गुटका केही नेताहरुले ओलीका सल्लाहकारलाई फोन गरेर हामी प्रधानमन्त्रीसँगै छौं समेत भनेको कुरा चर्चामा छ ।

हिन्दी फिल्म जस्तो यी सबै द‍ृश्य हेरिरहेका प्रचण्ड–माधव गुटको प्रतिक्रिया र फिल्मको अन्तिम दृश्य छिट्टै कार्यकर्तामाझ आउने भएको छ ।