प्रधानमन्त्रीले नै फोन गरेर बोलाउँदा पनि प्रचण्डले वास्तै गरेनन् - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

प्रधानमन्त्रीले नै फोन गरेर बोलाउँदा पनि प्रचण्डले वास्तै गरेनन्



काठमाडौँ – नेकपाभित्र संकट चुलिएका बेला प्रधानमन्त्री ओलीले छलफलका लागि तारन्तार बोलौन्दा पनि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाल नदिएको स्रोतले बताएको छ । छलफल र सहमतिका लागि भनेर ओली आफैले पनि पछिल्ला केहिदिन टेलीफोन गरेको स्रोतको दाबी छ ।

समस्या समाधानका लागि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच हुँदै आएको प्रत्यक्ष संवादमा पछिल्लो केही दिनदेखि ठप्प छ। प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले विवाद समाधानका लागि प्रचण्डलाई बसेर छलफल गरौँ भनी बोलाए पनि दाहालले उक्त प्रस्ताव पछिल्ला केहि दिन यता अस्वीकार गरेका छन्।

शुक्रबार ओली दाहालबीच दुई घण्टा छलफल भए पनि त्यसपछि संवाद हुन सकेको छैन। प्रचण्डले पछिल्लो तीन दिन यता केपी ओलीले छलफलका लागि गरेको प्रस्ताव अस्वीकार गरेको श्रोतको भनाई छ।

श्रोतले भन्यो ‘ओलीले छलफलका लागि बोलाउँदा प्रचण्डले मेरो कुरा त्यही हो तपाईँको कुरा पनि त्यही हो, यसमा समाधानको विकल्प भए छलफल गर्ने हो यथास्थितिमा आ–आफ्नो अडानकै लागि भेट्नुपर्छ जस्तो लाग्दैन भनेर जवाफ दिँदै आउनुभएको छ।’

ओलीले आइतबार र सोमबार प्रचण्डलाई आफैले फोन गरेर संवादमा आउन प्रचण्डलाई आग्रह गरेका थिए । मंगलबार बिहान पनि महासचिव विष्णु पौडेललाई दूतका रुपमा पठाएर ओलीले प्रचण्डलाई छलफलबाट नभाग्न आग्रह गरेको श्रोतले बतायो ।

मंगलबार बिहान खुमलटार पुगेका पौडेलले पनि दाहाललाई छलफलबाटै निकास निकाल्न आग्रह गर्दै ओलीले भेट्न चाहेको सन्देश सुनाएका थिए।

जवाफमा दाहालले ‘भेटेर कुरो केही निस्कने होइन, मेरो कुरा त्यही हो ओलीजीको कुरा पनि त्यही हो म भेट्दिँन भनेर जवाफ दिनभयो’, श्रोतले भन्यो।

दाहालले महासचिव पौडेललाई बरु ओलीलाई सहमतिका लागि कन्भिन्स गर्न आग्रह गरेर फर्काएका थिए। ‘म अब बैठक डाकेर अघि बढ्ने हो, सक्नुहुन्छ भने ओलीजीलाई कन्भिन्स गर्नुहोला’, दाहालले पौडेललाई भनेका थिए ।