प्रधानमन्त्री ओली गौतम निवासमै पुग्नुको रहस्य के ?
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पार्टीमा संकट चुलिइरहेको बेला दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव गरे। एक अध्यक्ष पुष्पकमल दाहाल नजिक मानिएका गौतमको प्रस्ताव अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग नजिक्याउने खालको थियो। गौतम ओलीको क्याम्पमा गएको चर्चा उनको प्रस्ताव आउना साथै सुरु भयो।
मंगलबार साँझ ओली गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगे। आफु नजिक आएका गौतमलाई भेट्न ओली महासचिव विष्णु पौडेल सहित भैंसेपाटी पुगेका थिए।
मंगलबार ११ बजे पार्टीको स्थायी कमिटी बैठक बोलाइएको भए पनि ओलीले एकतर्फीरुपमा स्थगित गरेका थिए। तर बैठक स्थगित नहुने भन्दै दाहालले बैठक सुचारु गरेका थिए। ओलीलाई आफ्ना कुरा बैठकमा राख्न अनुरोध गर्न दाहाल र झलनाथ खनाल गए पनि उनले बैठकमा आउन अस्वीकार गरेका थिए।
बहुमत सदस्यको बैठकले एकतर्फी बैठक स्थगित गर्नु गलत भएको ठहर समेत गर्यो। बहुमत सदस्यले गरेको निर्णयले ओलीलाई नैतिकरुपमा अप्ठ्यारोमा पारेको छ। आज विकसित भएका घटनाले नेकपा संकट निर्णायक मोडमा पुर्याएको छ।
६ बुँदे प्रस्तावले शीतलता महसुश गरेका ओली साँझ नै गौतम निवासमा पुग्नुलाई नेकपा विवादमा अर्थपूर्णरुपमा हेरिएको छ। ६ बुँदे प्रस्तावमा गौतमले एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधि सभाको बाँकी कार्यकालसम्म प्रधानमन्त्री रहने, पुष्पकमल दाहाल सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष रहने उल्लेख गरेका छन्।
त्यस्तै, पार्टी एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, पार्टीका कामममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तरराष्ट्रि महत्वका विषयमा निर्णय गर्दा पार्टीको सचिवालयमा परामर्श गर्ने प्रस्ताव गरेका छन्।