बुटवलको सिद्धबाबामा अहिलेसम्मकै ठूलो पहिरो
काठमाडौं- बुटवलस्थित सिद्दबाबा क्षेत्रमा अहिलेसम्मकै ठूलो पहिरो गएको छ । पाल्पा बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा यस अघि पनि पटक पटकपहिरो जाने गरेको थियो ।
सिद्धबाबा मन्दिरको ड्याम नजिकै अहिलेसम्मकै ठूलो पहिरो गएपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ ।
बाटाे खुलाउन एउटा लोडरले काम गरिरहेको र अर्को लोडरका लागि सडक विभागसँग कुरा भइरहेको बताइएको छ । प्रहरीका अनुसार बाटो खुल्न कम्तिमा चार घण्टा लाग्छ ।
प्रहरीले सूचना नै जारी गरेर साे बाटाेमा पैदल यात्रासमेत नगर्न र बाटो पूर्ण रुपमा खुलेपछि मात्र यात्रा गर्न अनुरोध गरेको छ ।
निरन्तर परेको पानी र चुरे क्षेत्र भएको कारण पाल्पाको डुम्रेदेखि चिडियाखोला सम्मका क्षेत्रमा निरन्तर पहिरोहरु झरेको छ ।
यात्रुहरुले बुटवल तानसेन यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न र अत्यावश्यक काम बाहेक नहिँड्न सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ ।