चीनले भन्यो: छिमेकीको समस्यामा हामी साथमा छौँ
काठमाडौं- चीनले छिमेकी देशको समस्या समाधानको लागि आफू साथमा भएको बताएको छ ।
सोमबार भएको भिडियो कन्फेरेन्समा चीनका विदेशमन्त्री वाङ यीले नेपालाई कोरोना मुक्त गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता चीनले व्यक्त गरेको छ।
कोरोना संक्रमणलाई परास्त गर्न सबैभन्दा पहिले छिमेकी मुलुकहरुलाई सहयोग गर्ने प्रतिबद्धता चीनले व्यक्त गरेको हो।
सोमबार नेपाल, अफगानस्तान र पाकिस्तानका परराष्ट्र मन्त्रीसहितको भिडियो कन्फरेन्समा चीनका विदेशमन्त्री वाङ यीले यस्तो प्रतिवद्धता जनाएका परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
‘कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चीन सरकारले आफ्ना छिमेकीहरुलाई सहयोग गर्ने छ,’ वाङ यीले भने।
चीनले भविष्यमा कोरोना भाइरसको भ्याक्सिन तयार गरे छिमेकी देशलाई प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।
नेपाल, पाकिस्तान र अफगानिस्तानलाई आवश्यक परे स्वास्थ्य सामग्री सहयोग गर्ने यीको भनाई छ। त्यसक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन सरकारले नेपालाई गर्दै आएको सहयोगको लागि धन्यवाद दिए।
भिडियो कन्फरेन्समा अफगानिस्तानका कार्यवहाक परराष्ट्रमन्त्री मोहम्मद हनिफ अट्मार र पाकिस्तानकोतर्फबाट मखदुम शाह महमुद कुरेसी सहभागी थिए।